दक्षिण अफ्रिकामा देखियो कोरोनाको नयाँ भेरिअन्ट, विभिन्‍न देशले लगाए उडान प्रतिबन्ध

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको नयाँ भेरिअन्टलाई भेरिअन्ट अफ ‘कन्सर्न’ घोषणा गरेको छ र यसलाई ओमिक्रोन नाम दिएको छ । यो भेरिअन्टको ठूलो सङ्ख्यामा उत्परिवर्तित भएको छ र प्रारम्भिक प्रमाण अनुसार यो भेरिअन्टबाट सङ्क्रमणको जोखिम उच्च रहेको डब्लुएचओले जनाएको छ ।

यो भेरिअन्ट पहिलो पटक नोभेम्बर २४ तारिखमा दक्षिण अफ्रिकामा पाइएको डब्लुएचओलाई जानकारी गराइएको थियो । हालसम्म ‌ओमिक्रोन बोत्स्वाना, बेल्जियम, हङकङ अनि इजरेलमा पनि पुष्टि भएको छ । कैयौँ देशहरूले दक्षिण अफ्रिका जाने वा आउने क्रमलाई पूर्ण प्रतिबन्ध लगाएका वा सीमित पारेका छन् ।

दक्षिण अफ्रिका, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो अनि इस्वाटीटीबाट आउने यात्रुहरूमा उनीहरू यूके वा आयरल्यान्डका नागरिक वा यूकेका वासिन्दा रहेको अवस्था बाहेक अन्यलाई प्रवेशमा रोक लगाइएको छ । अमेरिकाले पनि यस्तै खाले व्यवस्था कायम गरेको छ। यी व्यवस्था सोमवारबाट लागु हुने छ ।

युरोपेली सङ्घ अन्तर्गतका राष्ट्र र स्वीट्जरल्याण्डले पनि अस्थायी रूपमा दक्षिण अफ्रिकी राष्ट्रहरूसँगको हवाई यात्रामा रोक लगाएका छन् । समय अनुसार भाइरसले आफ्नो स्वरूप परिवर्तन गर्नु वा उत्परिवर्तन हुनु नयाँ विषय होइन । भाइरसको कुनै पनि भेरिअन्ट तब भेरिअन्ट अफ कन्सर्न बन्छ जब यसमा हुने उत्परिवर्तनले सङ्क्रामक क्षमता, खोपको प्रभावकारिता अनि यसले गर्न सक्ने खराबीमा प्रभाव पार्छ ।

शुक्रवार विश्व स्वास्थ्य सङ्गठनले सुरुमा B.1.1.529 नाम दिइएको भेरिअन्टका कारण दक्षिण अफ्रिकाका सबै जसो राज्यहरूमा सङ्क्रमण बढी रहेको पाइएको जनाएको थियो । वैज्ञानिकहरूले यो भेरिअन्ट कत्तिको सङ्क्रामक छ भन्ने कुराको अनुसन्धान गरिरहेका बेला उसले यो नयाँ भेरिअन्टको प्रभाव बुझ्न केही हप्ता लाग्ने जनाएको छ ।

नयाँ भेरिअन्ट कस्तो ?
दक्षिण अफ्रिकामा कोरोनाभाइरसको नयाँ भेरिअन्ट तीव्र रूपमा फैलिरहेको पत्ता लागेको हो । पहिलाका उत्परिवर्तनभन्दा यो पछिल्लो उत्परिवर्तन थप घातक हो कि होइन भन्ने स्पष्ट भइसकेको छैन ।

उनले भाइरसमा उत्परिवर्तन भएको सूची लामो भएका कारण एकजना वैज्ञानिकले यसलाई भयानक भनेर व्याख्या गरेको बताए । अर्का वैज्ञानिकले चाहिँ यो भेरिअन्ट आफूहरूले देखेकोमध्ये खराब भएको बताएका छन् । नयाँ भेरिअन्ट देखिएको अवस्था अहिले सुरुकै चरणमा रहेको र अहिलेसम्म धेरै बिरामीहरू दक्षिण अफ्रिकाको एउटा प्रान्तमा केन्द्रित रहेको बताइएको छ । तर यसको सङ्क्रमण थप क्षेत्रमा फैलिएका सङ्केतहरू पनि छन् । -बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *