वेस्ट बैंकमा भएको हिंसात्मक झडपमा चार प्यालेस्टिनी र एक इजरायलीको मृत्यु

एजेन्सी । उत्तरी वेस्ट बैंकको नाब्लस शहर नजिकै रहेको ताल क्षेत्रमा शुक्रवार भएको एक हिंसात्मक घटनामा परी चार प्यालेस्टिनी र एक इजरायली नागरिकको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार यस घटनामा अन्य केही व्यक्तिहरू घाइते समेत भएका छन् ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चारै जना मृतकको शव नाब्लसस्थित रफिदिया सरकारी अस्पतालमा लगिएको जानकारी दिएको छ । अस्पतालमा उपचारका लागि भर्ना गरिएका चार जना घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीका अनुसार गोली लागेर घाइते भएकाहरूलाई प्राथमिक उपचारपश्चात तत्काल अस्पताल पुर्‍याइएको थियो ।

स्थानीय प्यालेस्टिनी स्रोतहरूले इजरायली बसोबासीहरूको एक समूहले ताल क्षेत्रका घरहरूमा आक्रमण गरी अन्धाधुन्ध गोली चलाउँदा मानवीय क्षति भएको दाबी गरेका छन् । यता, इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) ले प्यालेस्टिनीहरूले इजरायली पदयात्री (हाइकर्स) माथि आक्रमण गरेपछि उक्त हिंसा भड्किएको बताए ।

आईडीएफका अनुसार घटनास्थलमा पुगेका एक सुरक्षा संयोजकको हतियार खोसेर आक्रमणकारीहरूले इजरायली नागरिकहरूमाथि गोली प्रहार गरेका थिए । इजरायलको राष्ट्रिय आपतकालीन सेवा ‘मागेन डेभिड एडम’ का अनुसार उक्त घटनामा करिब ३० वर्षीय एक इजरायली पुरुषको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । यस घटनापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले एक वक्तव्य जारी गर्दै यसलाई घातक आक्रमणको संज्ञा दिए । उनले आगामी सुरक्षा स्थितिको समीक्षा गर्न र आवश्यक कदम चाल्न रक्षा मन्त्री इजरायल काट्ज र सेना प्रमुखसँग उच्चस्तरीय बैठक बोलाउने जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =