पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा सुरक्षा चौकीलाई लक्षित गरी गरिएको आत्मघाती बम विष्फोटमा सुरक्षाकर्मीसहित कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

सुरक्षा स्रोतकाअनुसार बिहीवार राति ट्याङ्क जिल्लास्थित एक सुरक्षा चौकीमा विस्फोटक पदार्थले भरिएको सवारी साधन ठोक्काएर विष्फोट गराइएको थियो । विष्फोटमा परी नौ सैनिक, चार प्रहरी र वन विभागका एक कर्मचारीको ज्यान गएको पुष्टि भएको छ ।

विष्फोटका कारण सुरक्षा चौकी पूर्ण रूपमा ध्वस्त भएको छ । घटनामा २० सैनिक र चार प्रहरी गरी २४ जना घाइते भएका छन् । घाइतेहरूलाई तत्काल उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

शक्तिशाली विष्फोटपछि भग्नावशेषमा तीन सैनिक पुरिएको आशङ्कामा उद्धार टोलीले खोजी तथा उद्धार कार्य जारी राखेको छ । विष्फोटपछि सुरक्षा फौजले सो क्षेत्रमा चलाएको क्लियरेन्स अपरेसनका क्रममा तीन जना लडाकू मारिएको समेत सुरक्षा स्रोतले जनाएको छ ।

हालसम्म कुनै पनि समूहले यस आक्रमणको जिम्मेवारी लिएको छैन । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + eighteen =