के हो चीन र पाकिस्तानमा हेडलाइन बन्ने, भारतले बनाउँदै गरेको जोजिला सुरुङमार्ग ?

काठमाडौँ । भारत प्रशासित काश्मीर र लद्दाख जोड्ने जोजिला सुरुङमार्ग भारतले बनाइरहेको छ । विश्वको सबैभन्दा अग्लो दाबी गरिएको यो सुरुङ समुद्र सतहबाट ३ हजार ४ सय ८५ मिटर उचाइमा छ । झन्डै १५ किलाेमिटर लामो यो सुरुङ भारतकै सबैभन्दा लामो सुरुङमार्ग हुने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

सुरुङ क्षेत्रमा माइनस ४५ डिग्री सेल्सियससम्मको तापक्रम हुने बताइएको छ । भारतको जोजिला पासमा गत वर्षबाट निर्माण सुरु गरिएको सुरुङको काम तीव्र गतिमा अघि बढाइएको छ ।

९३ करोड २० लाख अमेरिकी डलर लागतमा बन्दै गरेको यो सुरुङमार्गको समाचार विश्वभरका सञ्चारमाध्यममा आइरहेका छन् । खासगरी भारतको पाकिस्तान र चीनसँगको सामरिक स्वार्थका कारण पनि यो सुरुङको चर्चा विश्वभर भएको हो । भारत सरकार र सञ्चारमाध्यमले समेत यसको व्यापक चर्चा गरिरहेका छन् ।

भारतका सडक यातायात तथा राजमार्गमन्त्री नितिन गड्करीले गत सेप्टेम्बर २८ मा सुरुङमार्गको स्थलगत निरीक्षण गरेका थिए । भारत सरकारले यसलाई राष्ट्रिय गौरवको परियोजनाको रूपमा विकास गरिरहेको छ ।

यो सुरुङमार्ग बनेपछि काश्मीर र लद्दाखको साढे तीन घण्टाको सडक दूरी १५ मिनेटमा झर्ने बताइएको छ । ४० किलोमिटरको घुमाउरो र असहज बाटोको दूरी पनि १५ किलोमिटर हाराहारीमा झर्नेछ ।

पहिले सन् २०२६ भित्र बनिसक्ने भनिएको यो सुरुङमार्ग तीन वर्ष अगावै सन् २०२३ डिसेम्बरभित्र बनिसक्ने भनिएको छ । सन् २०२४ को जनवरी २६ मा भारतमा हुने गणतन्त्र दिवसको अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरुङमार्गको औपचारिक उद्घाटन गर्ने भनिएको छ ।

काश्मीरको राजधानी श्रीनगरमा सबैजसो कुरामा निर्भर रहेका लद्दाख क्षेत्रका बासिन्दालाई सुरुङ बनेपछि धेरै सहज हुने अपेक्षा गरिएको छ । वर्षको आधा समय सडकमा हिउँ पर्नाले आवतजावतमा समस्या हुने गरेको यो क्षेत्रमा सुरुङमार्ग बनेपछि त्यो दुःख हट्ने बताइएको छ ।

जोजिला सुरुङमार्ग बनाउनै पर्ने भारतको बाध्यता र आवश्यकता 

धेरै समय चर्चा हुँदै सेलाउँदै गरेको सुरुङमार्गको कुरा गत वर्ष चिनियाँ फौजसँग भएको हताहतपछि कार्यान्वयनको बाटोमा तीव्र रूपमा अगाडि बढेको हो । गत वर्ष लद्दाख क्षेत्रमा चिनियाँ सैनिकसँग घम्साघम्सी हुँदा २० भारतीय सैनिक मारिए । भारत र चीनबीच पछिल्लो ४५ वर्षमा भएको सबैभन्दा ठूलो सैन्य हताहत त्यही थियो ।


लद्दाख क्षेत्रमा भएको त्यो तनावले भारतलाई झड्का दियो । सहज र छोटो यातायात नहुँदा भारतले क्षति व्यहोर्नुपरेको भारतीय अधिकारीहरूले भन्दै आएका छन् । त्यसको ठीक विपरीत चीनतर्फ भने सीमा क्षेत्रसम्म सहज पूर्वाधार छ ।

तुलनात्मक रूपमा कमजोर पूर्वाधार र मौसमी समस्याका कारण भारतले बाह्रै महिना सिमानामा सैनिक तैनाथ गराउन र युद्धको समयमा छोटो अवधिमै धेरै सैनिक पठाउन सुरुङमार्ग निर्माण गरेको हो ।जोजिला सुरुङमार्गको सम्बन्ध पाकिस्तानसँग पनि छ ।

सन् १९९९ मा भारत र पाकिस्तानबीच लद्दाखको कार्गिल क्षेत्रमा युद्ध भयो । युद्धमा भारत हाबी भयो । तर, भारतलाई मौसल र सडककै कारण अत्यधिक तनाव पनि भयो । त्यही युद्धबाट काश्मीर र लद्दाख जोड्ने सुरुङमार्ग बनाउनुपर्ने माग भएको थियो

। सन् २००५ मा भारत सरकारले सुरुङमार्ग बनाउने चर्चा गर्‍यो । सन् २०१३ मा यसको विस्तृत परियोजना प्रतिवेदन तयार भएको थियो । गत वर्ष सन् २०२० अक्टोबर १५ मा केन्द्रीय सडक यातायात तथा राजमार्गमन्त्री नितिन गड्करीले ब्लास्टिङ गरेर सुरुङमार्गको शिलान्यास गरेका थिए ।  सुरुङ दुई लेनको हुनेछ भने यसको गति ८० किलोमिटर प्रतिघण्टाको हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *