पतञ्जलीको झुटो वक्तव्य : टीभीकै उद्घाटन गराएर भवन उद्घाटन गरेको दाबी [सप्रमाण]

काठमाडौँ । पतञ्जली योगपीठ नेपालले प्रधान मन्त्री शेरबहादुर देउवाले केही दिनअघि टेलिभिजन च्यानलको नभई भवनको उद्घाटन गरेको जिकिर गरेपनि टीभीकै उद्घाटन गरेको प्रमाण भेटिएको छ ।

सूचना तथा प्रसारण विभागमा दर्ता नभई टीभीको उद्घाटन कार्यक्रम गरेपछि चौतर्फी विरोध र सूचना तथा प्रसारण विभागले छानबीन नै थालेपछि पतञ्जली नेपालले आइतबार विज्ञप्ति निकालेर टीभीको नभई भवनको उद्घाटन गरेको दाबी गरेको थियो ।

तर, टीभी उद्घाटनको अवसरमा सार्वजनिक गरिएको ताम्रपत्रमा भने ‘टीभीकै उद्घाटन’ गरिएको व्यहोरा लेखिएको छ । ‘पतञ्जली योगपीठ नेपालअन्तर्गत सञ्चालन हुने पतञ्जली नेपाल तथा आस्था नेपाल टीभीको सम्माननीय प्रधान मन्त्री शेरबहादुर देउवाज्यूको प्रमुख आतिथ्यता तथा भारत केन्द्र सरकारका माननीय सडक परिवहन एवम् राजमार्गमन्त्री श्री नितिन गडकरीज्यूको विशिष्ट आतिथ्यतामा विश्वविख्यात योगऋषि स्वामी रामदेवजी महाराज, आयुर्वेद शिरोमणी आचार्य बालकृष्णजी महाराजको समुउपस्थितिमा कार्यक्रम सम्पन्न भयो,’ ताम्रपत्रमा भनिएको छ ।

त्यति मात्र होइन कार्यक्रममा उद्घोषकले टीभीको उद्घाटन गर्न प्रधान मन्त्रीलाई आग्रह गरेका छन । त्यसपछि प्रधान मन्त्री देउवाले रिमोट थिचेर टीभी च्यानलको उद्घाटन गरेका छन् । त्यसपछि दुईवटा च्यानलको उद्घाटन भएको भनेर भिज्युअल पनि देखाइएको छ ।

हेर्नुस् भिडिओ :-

पतञ्जलीका टीभी च्यानलबारे छानबिन शुरु, भोलि प्रतिवेदन बुझाइने

सरकारले छानबिन थालेपछि पतञ्जलीले भन्यो- टीभीको होइन‚ भवनको मात्र उद्घाटन गरिएको हो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *