ब्राउन सुगरसहित आमा-छोरा पक्राउ

तुलसीपुर । दाङ जिल्लाको तुलसीपुर प्रहरीले एक घरमा छापा मारी करिब २० ग्राम ब्राउनसुगरसहित आमा-छोरालाई पक्राउ गरेको छ । शनिबार साँझ साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका-५ स्थित ३८ वर्षीया सुशीला श्रेष्ठको माइतीघरमा छापा मार्दा सानो पुरिया ९९ थान र ठूलो पुरिया एक गरी १९ ग्राम ७१० मिलिग्राम ब्राउनसुगरसहित सुशीला र उनका छोरा रोहन श्रेष्ठलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार उनीहरूले ब्राउन सुगर बिक्री वितरणका लागि पुरिया बनाउँदै गरेको अवस्थामा फेला पारिएको हो । सुशीलाको घर तुलसीपुर उपमहानगरपालिका-६ स्थित विद्युत् कार्यालयदेखि पछाडि रहे पनि हाल तुलसीपुर-५ मा बस्दै आएकी छिन् । प्रहरीका अनुसार आमा-छोरा नै ब्राउन सुगर कारोबारी हुन् ।

उक्त कारोबारमा उनका श्रीमान् वसन्त श्रेष्ठको पनि संलग्नता रहेको भन्दै अनुसन्धानका लागि खोजी जारी रहेको प्रमुख अर्यालले बताए । तुलसीपुरमै ठूलो परिमाणमा ब्राउन सुगर बरामद गरिएको हो । उनीहरूलाई पक्राउ गर्नुभन्दा पहिले तुलसीपुर बसपार्कबाट दुई जनालाई पक्राउ गरिएको थियो ।

ब्राउन सुगर कारोबार भइरहेको सूचनाका आधारमा जाँच गर्दा तुलसीपुर-५ बसपार्क निवासी २५ वर्षीय धिरज बुढाथोकीको साथबाट ५४० मिलिग्राम र बबई गाउँपालिका-४ घर भई हाल तुलसीपुर-६ बरुवागाउँमा डेरा गरी बस्दै आएका प्रख्यात शाहको साथबाट २६० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *