महाधिवेशनमा एमालेले ७ करोड खर्च गर्ने

काठमाडौँ । नेकपा (एमाले) ले दशौं महाधिवेशनमा कुनै व्यापारीसँग चन्दा नउठाउने बताएको छ । महाधिवेशन पार्टी सदस्यहरूबाट जम्मा भएको लेबी र सहयोग रकमबाट सम्पन्न हुने एमाले सचिव एवम् केन्द्रीय प्रचार-प्रसार विभाग प्रमुख योगेशकुमार भट्टराईले दाबी गरे । ‘यो महाधिवेशनमा हामीले कुनै व्यापारीबाट चन्दा उठाउँदैनौँ,’ शुक्रबार रिपोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भने, ‘हामी आफ्नै पार्टीमा, आफ्नै पार्टी सदस्यहरूमा निर्भर रहने हो ।’

महाधिवेशनकाे अनुमानित लागत ७ करोड भएको पनि भट्टराईले बताए । ‘हामी महाधिवेशनमा करिब ७ करोड खर्च गर्छौँ,’ भट्टराईले भने, ‘त्यो कुनै व्यापारीसँग लिइएको भन्दा होइन, त्यो हाम्रो करिब साढे सात लाख कार्यकर्ताहरूबाट जम्मा भएको रकम हो । लेबी हो र शुल्कहरू हुन् ।’

एमाले महाधिवेशनको कारणले मूल्यवृद्धि नहुने दाबी गर्दै भट्टराईले प्रष्ट्याए— ‘हामीले आफ्नो पैसाले मासु, चिउरा, चामल किनेर खान्छौँ भने किन व्यापारीले भाउ बढाउने ?’ सदस्यता शुल्क र लेबीबाटै झन्डै १० करोड उठ्ने भट्टराईले बताए ।

एमालेले पार्टीकाे १०‍औ‌ं महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा गर्दैछ । जहाँ, सर्वसम्मत रूपमा नेतृत्व चयन हुने उनकाे दाबी छ । भट्टराईले भनेका छन्, ‘यसपाली सबैभन्दा ठूलाे उद्देश्य भनेकै एमाकाे अबकाे नेतृत्व सर्वसम्मत गर्ने हाे । यसलाई हामी सम्भव बनाउँछाैँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *