एमालेमा पूर्वमाओवादी समूह : सहमतिअनुसार नभए ‘विद्रोह’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन नजिकिँदैछ । मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा चल्ने महाधिवेशनले पार्टीको अबको  नेतृत्व चयन गर्नेछ ।

गत असोज १५ गतेदेखि १७ गतेसम्म गोदावरीमा सम्पन्न पहिलो विधान महाधिवेशनको व्याख्याअनुसार अबको अध्यक्ष केपी शर्मा ओली नै निश्चितप्रायः भएपनि त्यसबाहेकका पदाधिकारीहरू को–को चुनिने भन्नेबारे एमालेभित्र एकखाले संघर्ष नै शुरू भएको छ ।

आफू अध्यक्ष हुने पक्कापक्कीजस्तै भएपनि एक वरिष्ठ उपाध्यक्षदेखि सात सचिवसम्मको पदमा कुन कुन नेताहरूलाई समायोजन गर्ने भन्नेबारे ओलीलाई चुनौती छ । ठिक यसैबेला एमालेमा रहेको पूर्वमाओवादी समूहले ओलीलाई आफूसँग भएको मौखिक सहमति कायम गर्न चुनौती दिइरहेको छ ।

त्यसो त पूर्वएमालेका धेरै नेताहरूलाई नै पद पुर्‍याउन ओलीलाई सकस परिरहेको छ । यसैबेला पूर्वमाओवादी नेताहरूले पनि दामासाही रूपमा शक्ति बाँडफाँट गर्नुपर्ने भन्दै सजग गराइरहेको छ । रामबहादुर थापा ‘बादल’ सँगै २३ जना पूर्वमाओवादी नेताहरू एमाले केन्द्रीय सदस्य छन् । उनीहरूले ओलीलाई आफूहरूसँग भएको मौखिक सहमति कायम गर्न आग्रह गर्दै आएका छन् ।

समूहका एक नेताकाअनुसार ओलीसँग प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा एकजना महाधिवेशन प्रतिनिधि पूर्वमाओवादी समूहबाट छानिनुपर्ने सर्त थियो । तर, त्यही सर्त पूरा नभएको ती नेता बताउँछन् । ‘महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया नै एकलौटीजस्तो भयो,’ ती नेताले मकालुखबरसँग भने, ‘यसले पार्टीमा सन्तुलन ल्याउँदैन ।’

उनले ओलीसँगको मौखिक सहमति पालना नभएको गुनासोसमेत गरे । ‘अब सहमतिमा, प्रतिस्पर्धामा र विचारमा पनि आउन गाह्रो भयो,’ ती नेताले भनेका छन्, ‘महाधिवेशन प्रतिनिधि छनौटमा भनेजस्तो भएन । हाम्रो १० प्रतिशत पनि नहुने भयो । यसरी त पार्टी राम्रोगरी चल्दैन ।’

ओलीले सहमतिबाटै महाधिवेशन प्रतिनिधि छान्ने भनेपनि त्यस्तो नभएको उनको गुनासो छ । ‘ओलीजीले भिडिओ सन्देश नै दिनुभयो । सहमतिमै गर्ने भनेर पनि भन्नुभयो । तर, पछि एकलौटीजस्तो भयो । यस्तै हो भने हामी चुनावमा जाने कि नजाने भनेर सल्लाह गर्न बाध्य हुन्छौँ । किनकी यो पार्टी बचाउने र चलाउने कुरा हो ।’

समूहले प्रत्येक निर्वाचन क्षेत्रबाट न्यूनतम एक/एक जना, जनवर्गीय संगठनबाट एक/एक र दलित नेता भएको ठाउँबाट एक जना महाधिवेशन प्रतिनिधि लिने भनेर ओलीसँग मौखिक सहमति नै गरेको थियो । त्योअनुरूप नहुँदा पूर्वमाओवादी समूह ओलीसँग चिढिएको हो ।

त्यसक्रममा पूर्वमाओवादी नेताहरूले चुनावी प्रतिस्पर्धा नगर्ने र ओलीलाई सहयोग गर्ने सर्त अघि सारेका थिए । ‘हामीले ५ प्रतिनिधि छानिँदा १ जना पूर्वमाओवादीबाट हुनुपर्छ भनेर भनेका थियौँ,’ ती नेता भन्छन्, ‘उहाँ (ओली) ले पार्टीमा छलफल गर्छु र मनाउने काम पनि गर्छु भन्नुभएको थियो । तर, अहिले त्यो देखिएन ।’

दशौं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने बताउँदै आएको पूर्वमाओवादी समूहले बेलाबेला तत्कालीन नेकपा ब्युँताउनुपर्नेसमेत बताउँदै आएको छ । यदि त्यसो नहुँदा पनि पूर्वमाओवादी समूहबाट २५ जनाले नै वैधानिकता पाउनुपर्ने आफूहरूको माग रहेको ती नेताले बताएका छन् ।

यदि यी मागहरू पूरा नभएको खण्डमा आफूहरू विद्रोह गर्नसमेत पछि नपर्ने ती नेताको चेतावनी छ । ‘अब दामासाही तरिकाले अघि नबढिएको खण्डमा हामी आफ्नो बाटो लाग्न पनि सक्छौँ । सहमति कायम हुनुपर्‍याे भनेर हामीले भनेका छौँ र त्यो हुन्छ भन्नेमा विश्वस्त पनि छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *