किसान मारमा परेका छन्, सरकारले तत्काल राहतको व्यवस्था गरोस्ः एमाले सांसद रखाल

काठमाडौं । नेकपा (एमाले)की राष्ट्रिय सभा सदस्य मिनासिंह रखालले किसानलाई समयमा मल, बीउ तथा अन्य कृषि सामग्री उपलब्ध गराउन नसकेको भन्दै सरकारको आलोचना गरेकी छन् ।

सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद रखालले अनावृष्टि र अतिवृष्टिका कारण किसान समस्यामा परेको उल्लेख गर्दै प्रभावित किसानलाई तत्काल राहत र आवश्यक कृषि सहायता उपलब्ध गराउन सरकारसँग माग गरिन् ।

उनले मौसम प्रतिकूल बनेकाले धेरै किसानले धान रोप्न त परै जाओस्, धानको बीउसमेत राख्न नपाएको बताइन् । समयमा रोपाइँ हुन नसके उत्पादन घट्ने र त्यसले किसानको आम्दानीसँगै मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने उनको भनाइ थियो ।

‘आज धान दिवस हो । मौसम प्रतिकूलताका कारण धेरै किसानले धान रोप्न त परै जाओस्, धानको बीउसमेत राख्न पाएका छैनन् । कतै पानीको अभाव छ भने कतै अत्यधिक वर्षाले बाली बगाएको छ,’ उनले भनिन् ।

सांसद रखालले कृषिप्रधान देश भन्ने मात्रै पर्याप्त नहुने भन्दै किसानलाई समयमा मल, बीउ, सिँचाइ, कृषि बिमा र राहत उपलब्ध गराउनु सरकारको दायित्व भएको उल्लेख गरिन् ।

उनले किसानको समस्यालाई बेवास्ता गरे मुलुकको खाद्य सुरक्षामै संकट आउन सक्ने चेतावनी दिँदै प्रभावित किसानको तथ्यांक संकलन गरी राहतसहित आवश्यक कृषि सहायता तत्काल उपलब्ध गराउन सरकारसँग आग्रह गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =