झलनाथले पार्टी फुटाउँदैछ भनेर कुप्रचार गरियोः खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले आफूले नयाँ पार्टी गठन गर्न लागेको भन्ने हल्ला निराधार रहेको भन्दै त्यसको खण्डन गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता खनालले आफू जीवनभर गुटबन्दीको विरोध गर्दै आएको व्यक्ति भएकाले पार्टी फुटाउने वा नयाँ दल गठन गर्ने कुनै योजना नरहेको स्पष्ट पारे ।

उनले अहिलेको लोकतान्त्रिक व्यवस्थाको अधिकतम उपयोग गर्दै समाजवादी लोकतन्त्र स्थापना गर्न समाजवादी क्रान्ति र समाजवादी रूपान्तरण आवश्यक रहेको बताए ।

आन्दोलनभित्र देखिएका विकृति, असमझदारी र वैचारिक विचलनलाई बहसका माध्यमबाट समाधान गर्नुपर्ने आवश्यकता महसुस गरेर आफूले ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ पुस्तक लेखेको उनको भनाइ थियो ।

‘अहिलेको लोकतन्त्रलाई अधिकतम उपयोग गरेर समाजवादी लोकतन्त्रमा पुग्न समाजवादी क्रान्ति र समाजवादी रूपान्तरण आवश्यक छ,’ उनले भने, ‘झलनाथले अर्को पार्टी खोल्न लाग्यो, पार्टी फुटाउन लाग्यो भनेर कुप्रचार गरिएको छ । म स्पष्ट भन्न चाहन्छु, झलनाथ खनालले कहिल्यै गुट बनाएको छैन र नयाँ पार्टी खोल्ने कुनै योजना पनि छैन ।’

नेता खनालले वैज्ञानिक समाजवादको स्पष्ट वैचारिक आधार निर्माण गर्नु अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै भ्रम र कुप्रचारको राजनीति नगर्न सबैलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + thirteen =