एमालेको विधान ओलीअनुकूल, पौडेलले हाँस्दै भने- ‘कमरेडहरूले बुझ्नुभो होला’

काठमाडौँ । नेकपा (एमाले) ले एउटा कार्यकारी पदमा दुई पटक मात्र उम्मेदवार बन्न पाउने व्यवस्थालाई कायम राखेको छ । यस्तै ७० वर्षे उमेरहद कायम राख्दै तर निर्वाचित भइसकेपछि भने यो हद लागू नहुनेगरी व्याख्या गरिएको छ । ‘यदि निर्वाचित भइसकेपछि बीचमै ७० वर्ष पुगेको खण्डमा त्यो व्यक्तिले पूरै कार्यकाल काम गर्न पाउँछ,’ विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उपमहासचिव विष्णुप्रसाद पौडेलले भनेका छन् ।

ललितपुरको गोदावरी सम्मेलन केन्द्रमा गत शुक्रबार शुरू भएको पहिलो विधान महाधिवेशनमा प्रतिनिधिहरूले दुईपटक मात्र उम्मेदवार हुन पाउने र ७० वर्ष उमेरहदमध्ये एउटा मात्र व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।

यद्यपि उपमहासचिव पौडेलले दुवै व्यवस्थालाई कायम राखिने बताए । पौडेलले हाँस्दै भने— ‘कमरेडहरूले बुझ्नुभयो होला ।’ पौडेलले यसो भन्दा हलमा उपस्थित प्रतिनिधिहरू पनि हाँसेका थिए । विधानको यो व्याख्याले अध्यक्ष केपी शर्मा ओलीलाई फाइदा पुग्नेछ ।

एमाले अध्यक्ष ओली अहिले ७० वर्षमा छन् । उनी आगामी फागुनमा ७० वर्ष पूरा हुँदैछन् । तर आगामी मंसिरमै महाधिवेशन गरेर फेरि अध्यक्ष बन्ने उनको योजना छ । विधानमा गरिएको व्यवस्थाअनुरूप अब ओलीले पुनः अध्यक्ष बन्न र आफ्नो कार्यकाल पूरा गर्न पाउनेछन् । किनभने निर्वाचित भइसकेपछी ७० वर्षे उमेरहद लागू हुने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *