किसानका समस्या समाधानमा सरकार गम्भीर बनोस्: सभापति चौधरी

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानका वास्तविक समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको मूल समारोहलाई सम्बोधन गर्दै सभापति चौधरीले किसानलाई गुणस्तरीय बीउ, मल, सिँचाइ, कृषि बिमा, राहत तथा उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए ।

नेपालमा वार्षिक करिब ७० लाख मेट्रिक टन धान आवश्यक पर्ने भए पनि हाल करिब ६० लाख मेट्रिक टन मात्रै उत्पादन भइरहेको उल्लेख गर्दै उनले किसानका समस्या समाधान गर्न सके उत्पादन वृद्धि सम्भव हुने बताए ।

सरकारले धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ८६५ रुपैयाँ निर्धारण गरे पनि किसानले उक्त मूल्य नपाएको भन्दै उनले त्यसको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गरे ।

उनले निजी क्षेत्र, चामल मिल तथा औद्योगिक क्षेत्रलाई किसानबाट समर्थन मूल्यमा धान खरिद गर्ने व्यवस्था मिलाउनुपर्ने आवश्यकता औँल्याए ।

‘सरकारले किसानहरूको वास्तविक समस्या पहिचान गरी समाधानतर्फ काम गर्नुपर्छ । गुणस्तरीय बीउ, मल, सिँचाइ र उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सके नेपाललाई आवश्यक धान स्वदेशमै उत्पादन गर्न सकिन्छ,’ उनले भने ।

सभापति चौधरीले कृषि आधुनिकीकरण, कृषि बिमा, राहत तथा प्रविधिमैत्री कृषि प्रणाली विस्तारलाई सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

उनले कृषक उत्पादनकर्ता मात्र नभई देशको कृषि अर्थतन्त्र र खाद्य सुरक्षाको मेरुदण्ड भएकाले उनीहरूको हितलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 7 =