चण्डेश्वरको प्रश्न- ‘जबरा न्यायालयलाई घाइते बनाउन प्रधान न्यायाधीश बन्नुभएको हो ?’

काठमाडौँ । नेपाल बार एशोसिएशनका पदाधिकारीहरूले झन्डै महिना दिनयता प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आएका छन् । सडकमा ओर्लिएर प्रदर्शनमै रहेका उनीहरूले सर्वोच्च अदालतको मूल गेटमा धर्नासमेत दिइरहेका छन् । उनीहरू धर्नामा बसेकोसमेत हप्ता दिन कटिसकेको छ ।

बिहीबार (आज) पनि बारका पदाधिकारीहरू उसैगरी सर्वोच्च अदालतको मूल गेटमा धर्नामा थिए । प्रधान न्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेशसमेत नदिने भन्दै अड्डी कसेर धर्नामा बसेका बार पदाधिकारीहरूलाई प्रहरीले हट्न भन्याे । उनीहरू नहटेपछि प्रहरीले बल नै प्रयाेग गर्‍याे । यसपछि सर्वाेच्च अदालतकाे मूल गेटमा प्रहरी र वकिलहरूबीच घम्साघम्सी नै पर्‍याे । उक्त घम्साघम्सीमा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित केही कानून व्यवसायीहरू घाइते भए ।

अध्यक्ष श्रेष्ठकाअनुसार आफूसहितका अन्य वकिलहरू घाइते भएका छन् । उनले न्यायालयकाे हुलदङ्गाप्रति दुःखसमेत व्यक्त गरे । मकालुखबरसँग आफू अन्नपूर्ण न्यूरो हस्पतालकाे शैय्याबाट बोलिरहेको थाहा दिँदै उनले थपे, ‘केही साथीहरू सख्त घाइते हुनुभएको छ । प्रकाश महर्जनजी झनै घाइते हुनुभएकाे छ । प्रहरीले मर्यादा कायम राखेन । आफ्नो मर्यादा काटेर हामीमाथि प्रहार भयाे ।’

अध्यक्ष श्रेष्ठले वकिलहरूमाथि भएको प्रहार सिङ्गो न्यायालयमाथिकै प्रहार भएको औंल्याए । ‘जसरी सर्वोच्च परिसरमै न्यायामूर्तिहरूमाथि लाठ्ठी बर्साउने काम भयो,’  अध्यक्ष श्रेष्ठले भने, ‘यो कामले सिङ्गो न्यायालय र न्यायमूर्तिहरूमाथि बर्सिएको हाे । वकिलहरूमाथि प्रहार हुँदा न्यायालय नै घाइते भएको सत्य हो । आज यस्तै भयो ।’

आफूहरू न्यायालय सुधारको निम्ति लड्दा राज्य पक्षबाट पटक-पटक हमला भइरहेको अध्यक्ष श्रेष्ठको दाबी छ, भन्छन्— ‘हामी प्रधान न्यायाधीशको राजीनामा किन मागिरहेका छौँ भन्ने विषय कसैले बुझेको छैन । हामी न्यायालय सुधार्न चाहन्छौँ । न्यायालय ठिकसँग चलोस् भन्ने ठान्छौँ र यसो गरिररहेको छौँ/भनिरहेका छौँ । यो न्यायालयलाई सुधार्ने भनेको सर्वप्रथमतः प्रधान न्यायाधीशको राजीनामाबाटै हो । हामीले भनिरहेका छौँ । प्रधान न्यायाधीशको राजीनामा न्यायालय सुधारको सुरुवात हो । यो सुरुवात हुन सकेन ।’

सर्वोच्च परिसरमै वकिलहरू कुटिनु भनेको न्यायालय कुटिनु भएको दृष्टान्त सुनाउँदै अध्यक्ष श्रेष्ठले भनेका छन्, ‘जबरा वकिलहरू कुट्न प्रधान न्यायाधीश बन्नुभएको हो ? के उहाँ न्यायालयलाई घाइते बनाउन प्रधान न्यायाधीश बन्नुभएको हो ?’

‘राजीनामाबाहेकका विकल्प नतेर्स्याए हुन्छ’

अब न्यायालयमा देखिएको समस्याको समाधान के त ? भन्ने मकालुखबरको जिज्ञासामा अध्यक्ष श्रेष्ठले भनेका छन्, ‘राजीनामा नै हो ।’ राजीनामाबाहेकका विकल्प आफूहरूसामु नतेर्स्याए हुने उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले भने, ‘अन्य विकल्प स्वीकार्य हुँदैन । हामी जुनसुकै संघर्ष गर्न तयार छौँ । हामीले खाली उहाँ (प्रधान न्यायाधीश) को राजीनामा माग्नका लागि मागेका होइनौँ । यसमा अन्यथा बुझ्नुपर्दैन । यो खाली न्यायालय सुधारअन्तर्गतको कुरा हो ।’

न्यायालय सुधारको आफूहरूको संघर्षमा सरकार पक्षबाट असहयोग भइरहेको निष्कर्ष अध्यक्ष श्रेष्ठको थियो । भने— ‘हाम्रो यो न्यायालय सुधारको आन्दोलनमा सरकार पक्षले असहयोग गरिरहेको छ । यो किन भइरहेको बुझ्न सकिएको छैन । यसबारेमा पनि छलफल गर्छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *