हरिबोधनी एकादशी मनाउन बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्बिरहरू)

काठमाडाैँ । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधनी एकादशी पर्व आज मनाइँदैछ ।

चन्द्रमास पात्रो अनुसार वर्षको २४ वटा एकादशी मध्य सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण एकादशी, हरिबोधनी एकादशीलाई मानिन्छ । हिन्दु शास्त्रमा यसको आफ्नै महत्त्व छ । कार्तिक शुक्ल पक्षमा पर्ने यो एकादशी, ठूलो एकादशीको नामले समेत प्रसिद्ध छ ।

एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने तिथिको रूपमा मानिन्छ । आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान् विष्णु आजकै दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको पाइन्छ । यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो ।

भविष्योत्तर पुराणका अनुसार अन्य एकादशीमा भन्दा आज गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने र यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फल प्राप्त हुने जनविश्वास रहिआएको छ ।

कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमा सम्मको अवधिलाई भीष्मपञ्चक पनि भनिन्छ । यो पाँच दिन भरि भगवान् विष्णुको आराधना गर्नाले इच्छित फल पाइने धार्मिक विश्वासका साथ आज देखि उपत्यकाका चार नारायण चाँगु, विशङ्खु, इचङ्गु र शेष नारायण लगायत बुढानीलकण्ठमा विशेष मेला लाग्ने गर्दछ ।

चार महिना अघि अर्थात् आषाढ शुक्ल एकादशीको दिन आफ्नो घरमा रोपिएको तुलसीलाई आज विशेष पूजा गरी पीपलसँग विवाह गरिदिने परम्परा पनि रहिआएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *