जाडो मौसममा स्वास्थ्यको हेरचाह कसरी गर्ने ?

जाडो मौसममा स्वास्थ्यसँग सम्बन्धी धेरै समस्याहरू देखा पर्छन् । दीर्घ रोगीहरूलाई पनि जाडो मौसमले अझ गम्भीर बिरामीको अवस्थामा पुर्‍याउने सम्भावना बढी हुन्छ । त्यसैले जाडोमा यी स-साना कुरामा ध्यान पुर्‍याउँदा स्वस्थ रहन मद्दत मिल्छ ।

स्वस्थ आहार, फलफूल र तरकारी खाने
९० प्रतिशत अमेरिकीले प्रशस्त मात्रामा फलफूल र तरकारी नखाने तथ्याङ्कले देखाउँछ । यदि जाडो मौसममा पनि स्वस्थ रहने हो भने हामीले खाने खानामा सुधार गर्नु आवश्यक हुन्छ । खानाबाट गुलियो र नुन कटौती गरी हरियो तरकारी थप्नुपर्छ । जाडोमा गाजर, आलु प्रशस्त मात्रामा खानाले प्रतिरक्षा प्रणाली बलियो हुनुको साथै स्वस्थ रहन सकिन्छ ।

दिउँसोको समय घरबाहिर समय बिताउने
जाडोमा धेरै मानिसहरूको घरभित्रै बस्ने बानी हुन्छ । त्यसो गर्नु स्वास्थ्यको लागि राम्रो मानिँदैन । रातको समयमा घरमा बसे पनि दिउँसो घर बाहिर निस्किनुपर्छ । यदि जाडोमा प्रशस्त मात्रामा सूर्यको प्राकृतिक किरण शरीरले प्राप्त गर्न नसकेमा भिटामिन डी को कमी हुन्छ । यसले अनेक स्वास्थ्य समस्या निम्त्याउने गर्छ ।

शरीरमा पानीको कमी हुन नदिने
मानिसहरूले प्रायजसो जाडोमा कम पानी पिउने गर्छन् । जाडो हुने कारणले सकेसम्म पानी प्रयोग नगर्ने बानी हुन्छ । तर जसरी हामीलाई गर्मी मौसममा प्रशस्त पानी पिउन मन लाग्छ त्यति नै पानी जाडो मौसममा पनि पिउनुपर्छ । चिसो मौसममा व्यायाम गर्दा गर्मी मौसमको भन्दा धेरै लुगा लगाउने गरिन्छ । बाकलो र धेरै लुगा लगाएर व्यायाम गर्दा पसिना पनि धेरै नै आउँछ । त्यसरी पसिनाबाट गएको पानीलाई फेरी शरीरमा जम्मा गर्न प्रशस्त पानी पिउनुपर्छ । त्यस्तै आफूलाई सकेसम्म अल्कोहल, कफी, चियाबाट टाढै राख्नुपर्छ । यस्ता पेयले शरीरमा जल वियोजन हुने सम्भावना उच्च हुन्छ ।

प्रशस्त निदाउने
जाडो मौसममा स्वस्थ रहन प्रशस्त निदाउन पनि अति आवश्यक हुन्छ । जाडो मौसममा निदाउनको लागि असहज हुन सक्छ तर प्रशस्त निदाउने कोसिस गर्नुपर्छ । चिसोमा बिहानको समयमा ओछ्यानमा न्यानो उङ्ने भएकाले ढिला उठ्ने राती ढिला सुत्ने बानी लाग्न सक्छ तर यसले सुत्ने रुटिन भने बिगार्छ । बेलुका पनि समयमै निदाउनको लागि क्याफिन नखाने, व्यायाम गर्ने, प्रशस्त खाना खाने गर्नुपर्छ । यसले राम्रो निन्द्राको लागि मद्दत गर्छ ।

शरीरलाई सधैँ न्यानो बनाएर राख्ने
यदि जाडो मौसममा धेरै समय आफूलाई घरबाहिर राख्ने गरेको छ भने आफूलाई हाइपोथर्मिया, फ्रस्टबाइट लगायतका अन्य चिसो सम्बन्धी समस्याबाट बचाउन आवश्यक छ । त्यसैले न्यानो लुगा जस्तै, स्वेटर, ज्याकेट, स्कार्फ लगाउनुपर्छ । घरभित्र बस्दा सिरक अथवा ब्ल्यान्केट ओढेर बस्नुपर्छ । तातो कपडा लगाउने सँगै आफूले बोकेर हिँड्ने झोलामा तातो लुगा राख्नु पनि जरुरी हुन्छ । यसले आवश्यक परेको खण्डमा शरीरलाई न्यानो राख्न मद्दत गर्छ । यी साधारण कुरामा मात्र ध्यान दिँदा पनि जाडो मौसमले शरीरमा ल्याउने समस्याबाट बच्न सकिन्छ ।

कोस्टल अर्जेन्ट केअर अफ गोञ्जेल्स् बाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *