६ विद्यार्थी संगठनले आयल निगम घेराउ गर्ने

काठमाडौँ । ६ विद्यार्थी संगठनहरूले नेपाल आयल निगमकाे कार्यालय घेराउ गर्ने भएका छन् । इन्धनको मूल्यवृद्धि फिर्ता लिन माग राख्दै ६ विद्यार्थी संगठनहरूले शुक्रबार निगमको कार्यालय घेराउ गर्ने घाेषणा गरेका हुन् ।
नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले शुक्रबार आयल निगमकाे कार्यालय घेराउ गर्ने घाेषणा गरे । उनले निगमका महाप्रबन्धकलगायतका कर्मचारलाई कार्यालयमा प्रवेश गर्न नदिने चेतावनीसमेत दिएका छन् ।
उनकाअनुसार शुक्रबार बिहान ९ देखि ११ बजेसम्म आयल निगमका महाप्रबन्धकलगायतका कर्मचारलाई कार्यालयमा प्रवेश गर्न दिइने छैन । कार्यक्रममा सत्तारुढ दल सम्बद्ध समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहलगायतले इन्धनको मूल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।
इन्धनको मूल्य वृद्धिको विरोधमा आन्दोलित विद्यार्थीहरुले बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई ज्ञापनपत्र बुझाएका छन् । निगमले १२ दिनको अन्तरालमा इन्धनको मूल्यवृद्धि गरेको भन्दै उनीहरुले मूल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
६ विद्यार्थी संगठनहरूले विज्ञप्तिसमेत जारी गरेका छन् । विज्ञप्ति जारी गर्ने संगठनहरूमा अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी यूनियन, अखिल [क्रान्तिकारी] र अखिल छैंठाै छन् ।









