तिब्बतको सीमा नजिक अमेरिकी सहयोग, ३ लाख डलरमा बन्दैछ गुम्बा

पोखरा । हिमालपारीको जिल्ला मुस्ताङमा अमेरिकी सहयोगबाट गुम्बा निर्माण सुरु गरिएको छ । अमेरिकी राजदूत सांस्कृतिक संरक्षण कोषको सहयोगमा उत्तरी मुस्ताङको मराङस्थित लो घेकर गुम्बाको जीर्णोद्धार गर्न थालिएको हो ।
अमेरिकी कोषले २ लाख ८५ हजार अमेरिकी डलर अनुदान दिने सम्झौता गरेसँगै गुम्बाको जीर्णोद्धार गर्न लागिएको हो ।
गुम्बा भूकम्प प्रतिरोधात्मक हिसाबले जीर्णोद्धार हुनेछ । ‘गुम्बा जीर्णोद्धार गर्ने कार्यको शुभारम्भ भएको घोषणा गर्न पाउँदा नेपालस्थित अमेरिकी मिसन अत्यन्तै हर्षित छौँ,’ नेपाल स्थित अमेरिकी दूतावासले तस्बिरसहित स्टाटस लेख्दै भनेको छ, ‘यसले भविष्यमा धर्मावलम्बी र पर्यटकहरूले सजिलो र सुरक्षित तरिकाबाट भ्रमण गर्न सक्नेछन् ।’
गण्डकी प्रदेश सांसद महेन्द्र थकाली, लो घेकर दामोदर कुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट र दुतावासका कर्मचारीहरूले संयुक्त रुपमा जीर्णोद्धारको शिलान्यास गरेका हुन् । यो गुम्बा तिब्बती बौद्धमार्गीहरूको सबैभन्दा पुरानोमध्ये एक मानिन्छ ।
२०७२ को महा विनाशकारी भूकम्पका कारण गुम्बाको चारैतिर चर्किएको छ । जीर्णोद्धारसँगै गुम्बामा कलाकृतिको अभिलेख राख्ने र दीर्घकालीन सञ्चालन योजना निर्माण गरिने बताइएको छ । गुम्बा सन् २०२३ भित्र बनिसक्ने बताइएको छ ।








