भाइटीकाका दिन पनि बागमती सफाइ

काठमाडाैँ । तिहारको अन्तिम दिन सबैजना भाइटीकाको तयारी गरिरहेका बेला बागमती सफाइ अभियानकर्मी भने गुह्यश्वरी मन्दिर अगाडिको नदी किनारमा जम्मा भएर सफा गरेका छन् । विसं २०७० जेठ ५ गते शुरू भएको बागमती सफाइ महाअभियान चाडपर्व, जाडो, गर्मी, प्राकृतिक प्रकोपजस्ता प्रतिकूल अवस्थामा पनि जारी छ ।

गुह्यश्वरी मन्दिर अगाडिको नदी किनारमा छठ पर्व मनाउन बाँस गाडेर छठ घाटलगायत संरचना निर्माण भइरहेको छ । त्यस क्षेत्रमा सफाइ महाअभियानले ४४३औँ हप्ताको सफाइ गरेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सदस्य डा माला खरेलले जानकारी दिइन् ।

सफाइबाट जम्मा गरिएको फोहर अधिकार सम्पन्न बागमतीकाे कार्यालय आगाडि थुपारिएको छ । काठमाडौँ महानगरपालिकाले फोहाेर व्यवस्थापन गर्ने जनाइएको छ । आज तिहारको भाइटीका परे पनि सफाइमा १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो । सफाइमा पूर्व मुख्यसचिव लीलामणि पौडेल, अधिकार सम्पन्न बागमती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, समितिका कर्मचारी, अभियानकर्मीलगायतको उपस्थिति थियो ।

महाअभियान शुरू भएपछि काठमाडौँ उपत्यकामा बागमतीका सहायक नदी सफाइ अभियान पनि शुरू भएको छ । चक्रपथका विभिन्न खण्डसमेत गरी हाल काठमाडौँ उपत्यकामा २५ सथनमा सफाइ भइरहेको छ । सांस्कृतिक सम्पदामा पनि बागमतीकै प्रभावले सफाइ भइरहेको छ । हाल उपत्यकाको गुह्यश्वरीकाे बागमती, रुद्रमती, विष्णुमतीको तल्लो र माथिल्लो भाग, मनोहरा, ललितपुरको गोदावरी खोलालगायत स्थानमा सफाइ भइरहेको छ ।

यसैगरी उपत्यकाबाहिरका मुख्य शहर, नदी र सांस्कृतिक सम्पदा स्थलमा पनि सफाइ भइरहेको छ । काठमाडौँ उपत्यकाबाहिर हाल १०८ स्थानमा सफाइ भइरहेको छ । सफाइ महाअभियानले देशव्यापी रुपमा जागरण ल्याए पनि स्थानीय सरकारले सहयोग नगरेको अभियानकर्मीको गुनासो छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =