पर्वमा प्रविधिकाे प्रभाव !

गलेश्वर । प्रकृतिसँंग मानिस रम्ने चाड हो तिहार । शरद याममा वातावरण नै उल्लासमय बनिरहेको छ । घर वरिपरि ढकमक्कै फुलेका सयपत्री र मखमली फूलले प्रकृति सिङ्गारिएको छ । विभिन्नथरिका बिजुली बत्तीको झिलिमिलीले रातलाई पनि दिनजस्तै बनाइदिएको छ । तर प्रकृतिसँग मानिस रम्ने चाड तिहारको मौलिकता भने हराउँदै गएको छ ।

युवा पुस्तामा आयातित संस्कृतिको प्रभावमा पर्दै गएकाले सांस्कृतिक विरासतका मौलिक चाडपर्वले आफ्नो मौलिकता गुमाउँदै गएको संस्कृतिविद्हरु बताउँछन् । नेपालीका लागि दसैँपछिको दोस्रो ठूलो चाड तिहारमा पशुपंक्षी, प्रकृति र पुरुष [भाइ] पूजा गरिने एकमात्र चाड हो । दसैँमा बलि दिने प्रचलनले कहीँकतै कसैलाई नरमाइलो लाग्छ भने तिहारमा सबै उमेर, वर्ग र सम्प्रदायका मानिसहरु रमाउने गर्दछन् ।

पं नीलकण्ठ आचार्यकाअनुसार तिहार प्रकृति, पुरुष र ऐश्वर्य [लक्ष्मी] लाई खुसी बनाउने रोमाञ्चक चाड हो । तर पछिल्लो समय यो चाडमा पनि निकै विकृति भित्रिएकाले यसको सांस्कृतिक पहिचान नै ओझेलमा पर्दै जान थालेको छ । आधुनिकतासँगै तिहारमा पनि अनेक खालका विकृति देखिन थालेको उनकाे भनाइ छ ।

माटाको दियो र भोगटेको पातमा बत्ती बालेर जिम फाल्ने चलन अहिले हराएको छ । घरको मूलढोका, सहायक ढोका, आँगनको डिल, तुलसीको मठ, धनसार, गोठ, जुठेल्नो जतातलै बत्ती बालेर जिम फाल्ने चलन थियो । तर अहिले भने जतातलै बिजुली बत्ती बालेर उज्यालो बनाइने गरिन्छ । म्याग्दीको ज्यामरुककोटका ८५ वर्षीय रणबहादुर घिमिरे भन्छन्, “यसबाट मनोरञ्जन त प्राप्त हुन्छ तर जिम फाल्ने विधान र तिहारको मौलिकता रहँदैन ।”

माटाको दियो, अमिलाको पात र मैनबत्ती हुँदै अहिले बिजुलीको झिलिमिली बत्तीमा मनाइने तिहारको मौलिकता अब कुनै चिजमा पनि बाँकी नरहेको बूढापाकाहरू बताउँछन् । अचेल माटोको पाला पूजाकोठामा मात्र सीमित भएको छ । माटोको दियोपछि मैनबत्ती र मैनबत्तीलाई उछिन्दै बिजुली बत्तीमा अहिलेको तिहार भुलेको छ ।

यमराजलाई बाटो छेक्न विशाल नदीको प्रतीकका रूपमा घरको मूलढोकामा हालिने तेलको धाराले प्रतीकात्मक अर्थ दिन्थ्यो । दाजुभाइलाई यमराजबाट सुरक्षित राख्न दिदीबहिनीले मूलढोकामा तेलको धारो हालेर बाटो छेक्ने प्रचलन पछिल्लो समय हराउँदै गएको बृद्ध घिमिरेले बताए । “ओखर फोरिन्थ्यो, तेलको धारा हालिन्थ्यो, देउसी भैलो खेलिन्थ्यो, साथीभाइ एकै ठाउँमा भएर जुवातास खेली रमाइलो गरिन्थ्यो”, उनले भने, ‘अब ती सबै कुरा हराइसके । तिहार केवल औपचारिकतामा सीमित हुन थालिसकेको छ ।’

पर्वमा प्रविधि

मोबाइल र इन्टरनेटको बढ्दो प्रभाव र प्रयोगका कारण मानिस यति व्यस्त भएका छन् कि उनीहरूलाई आफ्नो नजिकैको मान्छेले के गर्दै छ र के भन्दै छ भन्ने कुरासमेत पत्तो हुँदैन । युवा पुस्ताका दिदीबहिनीहरू पनि सूचना र प्रविधिको यो प्रभावबाट मुक्त हुने कुरै भएन । सूचना प्रविधि र सामाजिक सञ्जालको प्रभावका कारण दिदीबहिनीहरू पनि बेफुर्सदिला हुने गरेकाले झन्झटिला कामप्रति उनीहरूकाे रूची घट्दै गएको छ । सूचना र प्रविधिले विश्वलाई नै साँघुरो बनाइदिए पनि अपनत्व र सौहार्दतालाई भने निकै टाढा पुर्‍याइदिएकाे छ ।

फूल खोज्ने, माला गाँस्ने, भाइमसला बनाउने, खानाका परिकार तयार गर्ने र समग्रमा तिहारको रौनक बढाउने प्रमुख भूमिका दिदीबहिनीको नै हुने गर्छ । तर उनीहरू  पनि बेफुर्सदिला बनिदिँदा तिहारको मौलिकतामा पनि असर गरेको बताउँछन् मङ्गला गाउँपालिका अर्मनका खडानन्द सापकोटा । उनकाअनुसार अहिले बजारमा प्याक गरेर राखिएका भाइमसलामै दिदीबहिनीले काम चलाउने गरेका छन् । सापकोटाको भनाइसँग सहमत हुनुहुन्छ अर्मनकै रसिला जैसी पनि । “पहिला–पहिला दिदीबहिनी भेला भएर तिहार शुरू हुनेबित्तिकै भाइमसला खोजी गर्थ्याैँ, ओखरदेखि लिएर सम्पूर्ण सामग्रीको जोहो गरेर भाइमसला बनाउँथ्यौँ”, ६४ वर्षीया जैसीले भने, ‘अहिले त कसैलाई कामले फुर्सद छैन, कसैलाई मोबाइलले ।’

सेलराेटीकाे व्यापारबाट मनग्य आम्दानी

तिहार शुरू भएसँगै म्याग्दी सदरमुकाम बेनीमा झिनीया र सेलरोटीको व्यापार फस्टाउँदै गएको छ । यमपञ्चकको चौथो दिन आजसम्म लाखौँको झिनीया र सेलरोटीको व्यापार भएको व्यवसायीहरूले बताएका छन् । बेनीका झिनीया उत्पादक तथा व्यापारीकाअनुसार तिहारको समयमा एक जनाले दुईदेखि तीन लाखको झिनिया तथा सेलरोटी बिक्री गरेका छन् । सदरमुकाम बेनीमा मात्रै झिनीया उत्पादन गरेर बिक्री गर्ने उद्यमीको सङ्ख्या २५ भन्दा धेरै छ ।

बेनीकी उद्यमी राधा बोगटीले तिहारको अवधिमा सेलरोटी र झिनियाको माग अत्यधिक भएको बताए । “दैनिक ७०० वटासम्म झिनीया र सेलरोटी बिक्री हुन्छ”, उनले भनेका छन् । व्यवसायीकाअनुसार घरमा बनाउन झन्झट हुने, बिग्रने डर तर कोसेली लैजान सजिलो हुने भएकाले पछिल्लो समय तयारी सेलरोटी र झिनीयाको व्यापार फस्टाउँदै गएको हो । सेलरोटी र झिनीयाको साथै चिनी, फिनी, झेली, फूल रोटीको पनि उत्पादन र बिक्री वितरण हुन्छ ।

सेलरोटी प्रतिगोटा ३०, चिनी र फिनी रोटी प्रतिगोटा ५० का दरले बिक्री हुने गरेको छ । झिनीया आकारअनुसार प्रतिगोटा रु १० देखि १५ मा बिक्री हुन्छ । बेनीका उद्यमीले उत्पादन गरेको झिनीयाले माग धान्न नसकेपछि छिमेकी जिल्ला बागलुङबाट समेत आयात गरिएको अर्की उद्यमी सिर्जना श्रेष्ठले बताए । “सीप भएका महिलालाई फुर्सदको समय सदुपयोगका साथै आयआर्जनको अवसर मिलेको छ”, उनले भनेका छन् ।

हेर्दा आकर्षक, खानालाई स्वादिलो, सजिलो तथा तयारी खाजाको रूपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा झिनीया रोटीको खपत धेरै हुने गर्छ । चामलको पिठो पकाएर त्यसलाई मेसिनमा पेलेर निस्कने चाउचाउको जस्तो त्यान्द्रोलाई घाममा सुकाएपछि बन्ने झिनीया घ्यू, तेलमा फ्राई गरेर खान योग्य हुन्छ । बनाउन झन्झटिलो भए पनि झिनीयाको व्यापार गर्नेहरुको कमाइ भने राम्रो छ । ध्रुवसागर शर्मा/रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *