नदीमा डुबेर दुई जनाको मृत्यु

कैलाली । कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको शनिबार मृत्यु भएको छ । भजनी नगरपालिका–३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनन्जय निसाद र सोही ठाउँका लायकराम चौधरीका १० वर्षीया छोरा अरबिन्द्र चौधरीको काडाँ नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।
इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा शवको खोजी गर्दा सोही नदीमा मृतावस्थामा फेला पारी आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।
लागुऔषधसहित तीन पक्राउ
धनगढी उपमहानगरपालिका–१ बुद्धमार्गबाट खैरो हिरोइन(लागुऔषध)सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–८ का आदर्श कुँवर, सोही ठाउँका वसन्त चौधरी र हिमाल शाहीलाई चार ग्राम १०० मिलीग्राम लागुऔषधसहित पक्राउ गरिएको जिप्रकाले जनाएको छ ।
शङ्कास्पदरूपमा हिँडिरहेका उनीहरुमाथि शङ्का लागि जाँच गर्दा निजहरुको साथबाट उक्त लागुऔषध फेला पारी बरामद गरिएको प्रनाउ विष्टले बताए । निजहरु तीनै जनामाथि लागुऔषध खैरो हिरोइन मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बताइएको छ । रासस








