भालेबिनै जन्मेका बच्चाहरू

हिजो एउटा समाचारले विज्ञान क्षेत्रमा तहल्का मच्चायो । क्यालिफोर्नियामा पाइने एक प्रकारको गिद्ध (California condors) का दुईवटा बच्चाको डीएनए परीक्षण गर्दा उनीहरूको ‘भर्जिन बर्थ’ भएको पत्ता लाग्यो । यो भनेको बिना पुरुष अर्थात् भालेले यौन सम्पर्क नगरेका पोथी गिद्धले आफ्नै अण्डा मात्र प्रयोग गरेर बच्चा जन्माए ।

कोन्डोर्सको छोटो परिचय

यो गिद्धको सङ्ख्या सन् १९८५ सम्म संसारभरि २२ मात्र थियो । यसलाई बचाउन १९८७ बाट ठूलो कार्यक्रम शुरु गरियो । यी गिद्धलाई जङ्गलबाट समाएर स्यान्डिगो चिडियाखानामा ल्याएर प्रजनन कार्यक्रम शुरु गरियो।

त्यसैले कुन भाले पोथीको कोसँग संसर्ग भयो र कुन चल्लाको बाऊ को हो भनेर सबै रेकर्ड राखियो । यो कार्यक्रम सफल भएर संसारभर पाँच सय गिद्ध भइसके ।

अब फेरि विज्ञानको कुरा, कसरी थाहा भो त भर्जिन बर्थ भन्नेबारे :-

जस्तै Jesus Christ लाई यही प्रक्रियाबाट जन्मेको भनिन्छ । कसैले उनको डीएनए दिएमा, homologous chromosome sequence गरेर, उनी साँच्चिकै भर्जिन बर्थ भएर जन्मेका हुन् कि हैनन् भनेर पत्ता लगाउन सकिन्छ ।

हामीमा २३ जोडी क्रोमोजोम हुन्छन् । जोडी भन्नाले आधा बुवाबाट आएको र आधा आमाबाट आएको । त्यसैले यौन सम्पर्क भनेको बुवाले आफ्नो भागको आधा क्रोमोजोम आमामा खन्याउनु हो । बुबा र आमाको जोडीलाई होमोलोगस क्रोमोजोम भनिन्छ। यी लगभग दुरुस्तै हुन्छन् ।

तर आधा बुवाको शरीरमा शुक्रकीट को रूपमा हुर्केकोले र आधा आमाको शरीरमा अण्डाको रूपमा हुर्केकोले यी शतप्रतिशत दुरुस्तै हुँदैनन् । यही होमोलोगस क्रोमोजोम हेरेर भर्जिन बर्थ पत्ता लगाउने हो । होमोलोगस क्रोमोजोमका दुवै जोडी शत प्रतिशत दुरुस्त भए भने त्यो बच्चा जन्मनुमा बुवाको हात हुन्न । किनभने बुवाको तर्फबाट केही आएको भए केही न केही फरक परिहाल्थ्यो । यो गिद्धमा पनि त्यही भयो  । यसको होमोलोगस क्रोमोजोमको जोडा हेरेको त शत प्रतिशत दुरुस्त ।

भनेपछि अण्डाले आफै बच्चा बनायो । यो प्रक्रियालाई प्राविधिक रूपमा पार्थेनोजेनेसिस पनि भनिन्छ । सुन्दा गजब सुनिएपनि खासमा यस्तो प्रकारको जन्म त्यो प्राणीको लागी राम्रो हैन । किनभने यो प्रक्रियामा क्रोमोजोम जस्ताको तस्तै हुने भएर इभोलुसन हुँदैन । यो भनेको अपडेट नहुने सफ्टवेयर जस्तै हो, जो राम्रो होइन ।

यो चिलको उदाहरणमा पनि ६० वर्ष बाँच्नुपर्ने बच्चाहरू एउटा २ वर्ष अनि अर्को ८ वर्ष मा मर्‍यो, भन्नुको मतलब, स्वास्थ्यको आधारमा यो भर्जिन बर्थ खासै राम्रो बाटो होइन । बुवा र आमाको संलग्नतामा बच्चा जन्मने काममा डीएनएमा स-साना परिवर्तन थपिँदै जान्छन् जो सफ्टवेयर अपडेट जस्तै हो । त्यसो भए प्रकृतिले त्यो गिद्धलाई किन त्यस्तो गर्न लगायो त, यदि यो प्रक्रिया खासै राम्रो होइन भने ? यो मेरो विचारमा ‘मर्नुभन्दा बहुलाउनु वेश’ भने जस्तै हो ।

याद गर्नुहोस्, कुनै बेला यो गिद्धको सङ्ख्या २२ वटा मात्र थियो । अनि बच्चा जन्माउन भाले पोथी दुवै चाहिने भएपछि दुवै एकै ठाउँमा भेट्ने सम्भावना पनि कम भयो र यो गिद्ध नै संसारबाट लोप होला जस्तो भयो  । त्योभन्दा त बरु बाँच्नैको लागी अण्डाले भर्जिन बर्थको बाटो रोजेको हुन सक्छ ।

तर यो उदाहरणमा यी पोथी चिलको साथमा वरिपरि पुरुष चिल थिए, त्यसैले मेटिङ पार्टनर भएपनि कतिपटक भर्जिन बर्थ गर्छन्, हामीले त्यो पत्ता नलाएको आशङ्का छ । यी चिल पो २४ सैँ घण्टा मान्छेको निगरानीमा थिए र यो कुरा थाहा भयो । खासमा प्रकृतिमा यस्ता उदाहरणहरू अरू पनि छन्। मौरी, कमिला, छेपारो, माछाहरू यो प्रक्रियाबाट बच्चा जन्माउँछन् ।

अब मलाई थाहा छ (विशेष गरी पुरुष मित्रहरू) यहाँहरूको मनमा एउटा प्रश्न छ, मान्छेमा यो हुन्छ कि हुँदैन ? पुरुषको कामै सकिने हो कि ? यसको उत्तर हो: हुँदैन । कसरी ? मान्छेमा बच्चा जन्मिन केही क्रमबद्ध प्रक्रिया हुनै पर्छ र त्यो प्रक्रियामा शुक्रकीटको पनि केही महत्त्वपूर्ण काम हुने भएकोले अण्डा एक्लै विभाजित भएर पुरै बच्चा बनाउन सक्दैन । हामी सबै एकै सेलबाट शुरु हुने हो । यसलाई सेल डिभिजन भनिन्छ ।

अब सेल डिभिजन गर्नु पर्‍यो भन्ने सङ्केत सेल मा क्याल्सियमको मात्रा बढ्नु हो । मान्छेमा त्यो मात्रा शुक्रकीट अण्डामा छिरेपछि मात्र शुरु हुन्छ, भनेपछि बच्चा जन्माउन पुरुष अनिवार्य चाहियो । शुक्रकीट नआएपछि त्यो अण्डा महिनावारीसँगै शरीरबाट बाहिर फालिन्छ ।

तर वैज्ञानिकहरू पनि अलि चकचके जात नै हो । शुक्रकीटको काम अण्डामा क्याल्सियमको मात्रा बढाएर सेल डिभिजन गराउने मात्र हो भने, विना शुक्रकीट नै अण्डामा क्याल्सियम छिराए के हुन्छ भनेर प्रश्न गरे । अचम्मसँग, सुईबाट छिराएको क्याल्सियमले साँच्चिकै सेल डिभिजन भयो ।

तर अफसोस, केही समय पछि त्यो अण्डा बच्चा बन्न नपाई मर्‍यौ । यसको मतलब क्याल्सियम बाहेक शुक्रकीटमै अरू थप जिनेटिक सूचना हुन्छ जसले अण्डालाई बचाई राखेर बच्चा बनाउन मद्दत गर्छ । यो उदाहरण घरको धेरै ढोका खोल्ने साँचो अण्डासँग भएपनि, १-२ वटा महत्त्वपूर्ण साँचो शुक्रकीटसँग मात्र भएको जस्तै हो ।

हामी आफूलाई विकसित प्राणी भनेको पक्षपात गरेर होइन, वास्तवमै हाम्रो प्रणाली सोफेस्टिकेटेड नै छ । पूर्ण बच्चा बनाउने इन्फरमेसन स्तनधारीमा अण्डा र शुक्रकीटमा बाँडिएको हुन्छ, त्यसैले दुवै चाहिन्छ । तर चरा, माछाहरू त्यति सोफेस्टिकेटेड नहुने भएकोले अण्डा आफैले पनि बच्चा बनाउन सक्छ ।

तर फेरि पनि वैज्ञानिक चकचके नै हुन्छन् । जापानका वैज्ञानिकले स्तनधारीको (मुसा) शुक्रकीटमा चाहिने के कुरा र के हटायो भने भर्जिन बर्थ हुन्छ भनेर अध्ययन गरेर, त्यही रिसेपीको आधारमा भर्जिन बर्थ मुसा बनाइसके । भनेपछि यो हुनै नसक्ने कुरा होइन ।

संसारमा बाँच्नु नै सबैभन्दा ठूलो कुरा हो । अहिले पो पुरुष फालाफाल छन् र भर्जिन बर्थ हुन्न । पछि संसारमा कल्पना गरौँ पुरुषको अभाव भयो भने अण्डाले आफै बच्चा बनाउन सक्ने प्रक्रिया लिन पनि सक्छ है ( यो मेरो कल्पना मात्र हो) । मरता क्या नहि करता ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *