साठी वर्षसम्म खेती किसानी गरेका शताब्दी पुरुष लालबहादुर

जिसी अहिलेसम्म बिरामी भएर अस्पताल भर्ना भएका छैनन्, एलोपेथिकको औषधी सेवन् समेत गरेका छैनन्

म्याग्दी । खैरो रङको स्वीटर र कोट, निलो ट्याक पाइन्ट र ढाका टोपी पहिरन लगाएका लालबहादुर जिसीको चाउरीको अनुहारमा शुक्रवार दिउँसो छुट्टै चमक थियो । उनको अनुहारमा चमक हुनुको एउटै कारण हो आफ्नै आँगनमा जनप्रतिनिधि, छिमेकी र परिवारका सदस्यहरूको उपस्थितिमा एक सयौँ जन्मदिन मनाउन पाउनु । जलजला गाउँपालिका–२ ओखरबोटका जिसीले सम्मानपछि खुलेर मनको कुरा र जीवन भोगाईका अनुभव सुनाउनुका साथै भलाकुसारी गरे ।

साठी वर्षसम्म खेती किसानी र घुम्ती गोठमा पशुपालन गरेर पाँच सन्तान हुर्काएका जिसीले अहिलेसम्म बिरामी भएर अस्पताल भर्ना नभएको र एलोपेथिकको औषधी सेवन् नगरेको सुनाए । “दूध, घ्यु, दही, माछा, मासु, विषादी र रासायनिक मलको प्रयोग नगरीकन उत्पादन भएको ताजा तरकारी, फलफूल उपभोग गरेको हुँदा अस्पताल भर्ना हुने गरी बिरामी परेको छैन,” जिसी भन्छन् “सामान्य बिरामी हुँदा गाउँघरमै पाइने जडीबुटी खाएर निको भएको छु ।”

तत्कालीन राणा, प्रजातन्त्र, पञ्चालत, राजतन्त्र, शसस्त्र द्वन्द्व हुदै संघीय गणतान्त्रिक व्यवस्थाको अनुभव गरेका जिसीले युवा हुँदा एक महिना लगाएर बुटवल पुगेर नुन ल्याएको, त्यस बेला जुत्ता, चप्पल लगाउन नपाएको, खानेपानी, विद्युत्, सञ्चारको सुविधा नहुँदा जीवनयापन निकै कष्टकर रहेको स्मरण सुनाए । “नयाँ कपडा लगाउन चाडपर्व नै कुर्नुपर्ने थियो, ढुङ्गा प्वाल पारेर जम्मा भएको पानी उपभोग गर्नुपर्ने अवस्था थियो” उनले बाल्यकाल सम्झनुभयो “पूर्वाधार र चेतनाको विकासका साथै व्यवस्थामा आएको परिवर्तनले हामी सर्वसाधारणको जनजीवन धेरै सहज भएको छ ।”

खेतीयोग्य जमिन बाझिने, बसाइसराइ बढ्दो र खाद्यान्तमा परनिर्भरता बढेकोमा जिसीले चिन्ता गरे । स्थानीय खानेपानी उपभोक्ता समितिको नेतृत्व गरेका जिसीका चार छोरा र एक छोरीका २० जना नाति, नातिनी र पनाति छन् । जिसीले १७ वर्षको उमेरमा १३ वर्षीया नन्दकुमारीसँग विवाह गरेका थिए । श्रवणशक्ति कम भए पनि स्पष्ट बोल्न सक्ने उनी धार्मिक पुस्तकका चित्रहरू अध्ययन, आफन्त र छिमेकीसँग गफिएर दिन बिताउँछन् । घर वरपर आफै हिँडडुल गर्नुहुन्छ । खाना खान, शौचालय जान सहयोगी नचाहिने लालबहादुरका माइला छोरा हरिबहादुर जिसीले बताए ।

जिसिलाई जलजला गाउँपालिका, बराह टोल विकास संस्था, घर्ती क्षेत्री लामिछाने बन्धु समाजले प्रशंसापत्र प्रदान गरेर सम्मान गरेका थिए । जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य र उपाध्यक्ष दीपक आचार्यले दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरे ।
एक सय वर्ष पुगेका पालिका भरिका शताब्दी पुरुष र नारीको पहिचान गरेर घरमै पुगेर सम्मान गर्ने, उनीहरूको अनुभव, जीवन भोगाई र सुझावलाई रेकर्ड गरेर राख्ने, परम्परागत ज्ञान, सिप र अनुभवको पुस्तान्तरण गर्न थालिएको अध्यक्ष आचार्य बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =