नेपालको प्रचार गर्दै अनुपम खेर

काठमाडौँ । बलिउड चलचित्र ‘उचाइ’ टिम छायाङ्कनका लागि नेपालको मनाङ आसपास क्षेत्रमा छ । अक्टोबर २ अर्थात् असोज १६ गतेबाट छायाङ्कन सुरु गरिएको चलचित्र दुई दिन काठमाडौँमा छायाङ्कन गरेर मनाङ लागेको हो ।

मनाङमा समेत ४० देखि ४५ दिनको छायाङ्कन तालिका रहेको छ । यही तालिका अनुरूप नै चलचित्रको समूह लुक्ला र नाम्चे आसपासको छायाङ्कन सकेर हाल मनाङमा छ ।

नेपाल आएसँगै चलचित्रका मुख्य कलाकार अनुपम खेर नेपालको प्रचारमा देखिएका छन् । उनले काठमाडौँमा पशुपतिनाथ मन्दिर भ्रमण गरे । भ्रमणको भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे र मन्दिरको प्रशंसा गरे । छायाङ्कनका लागि टिमसँगै मनाङमा रहँदा पनि उनले नेपाल र नेपालीको विषयमा सामाजिक सञ्जालमा लेखिरहेका छन् ।

नेपालको हिमाली क्षेत्रमा रहेका खेर त्यहीको हिमाल, प्रकृति र स्थानीय बासिन्दासँग रमाइरहेका देखिन्छन् । सगरमाथाको काखमा पुगेका उनले तस्बिरसहित त्यहाँ पुग्नुको खुसी व्यक्त गरेका छन् । सगरमाथाको चरणमा पुग्दा शिर आफै झुक्ने उनले बताएका छन् भने उनले अरूलाई पनि यस्तो अनुपम स्थानमा पुग्न आग्रह गरेका छन् ।

आफ्नी आमा दुलारीले बुनेको स्विटर बोकेर उनी लुक्लाका बालबालिका समक्ष पुगे । उनीहरूलाई मनपर्ने रङ्ग रोजाएर स्विटर दिए र बालबालिकाको खुसी भरिएको आवाजमा ‘दुलारी आन्टी रक्स’ को ध्वनि सँगाले ।

अनुपमले चलचित्रको छायाङ्कनका क्रममा निक्कै सकस भोग्नुपरेको देखिन्छ । चिसोले अनुहार रातो भएको छ, उकालोको यात्रा सास फुलेको छ तर हाँसेर काम गर्दा जस्तो परिस्थिति पनि सहज महसुस हुन्छ । अनुपम उकालोमा लड्नै लाग्दा समेत भिडिओ खिच्दै परिवेशसँग मस्त देखिएका छन् ।

नाम्चेबाट काठमाडौँ फर्किँदै गर्दाको सानो क्लिप्समा उनले साँगाको शिव मूर्ति समेटेका छन् भने अन्नपूर्ण हिमालको सुन्दरता हेर्न बिहान सबेरै उठेर उनले बनाएको ‘टाइमलेप्स’ भिडिओ उत्तिकै मनमोहक छ ।

मनाङका ती अबोध अनुहारहरूसँगको एक बलिउडका चर्चित सेलिब्रेटीको संवादले जो कोहीको मन छुन्छ । दुई बालबालिकाको निश्चल हाँसोले अनुपमको मात्रै नभएरै पुरै विश्वमा फैलिएर रहेका उनका फ्यानको मन जितेको छ ।

झोलुङ्गे पुल मार्फत हिमालको वारी पारी गर्दाको अनुभव होस् चाहे बुद्ध मूर्ति अघि बसेर उनले उच्चारण गरेको ओम ध्वनि लगायतले नेपाल को प्रचार विश्वभरि गरिरहेको छ ।

अनुपमको चिनारी क्षेत्र विश्वभर फैलिएको छ । उनका फलोवर्स पनि लाखौँ छन् त्यो पनि विश्वभर नै । उनले सञ्जालमा देखाउने हरेक विषयको पहुँच विश्वमा पुग्छ । उनले एक महिना यता सेयर गरेका भिडिओ, तस्बिर र पोस्टहरूले नेपाललाई विश्वमाझ चिनाउन थोरै भए पनि सहयोग भने पक्कै गरेको छ ।

उनीसँगै परिनिती चोपडाले पनि केही भिडिओहरु शेयर गरेकी छन् । अब करिब एक हप्ताको बसाई पश्चात् ‘उचाइ’ टिम मुम्बई फर्किँदै छ ।

राज श्री प्रोडक्सनको निर्माण रहेको चलचित्र सुरज बडजात्याले निर्देशन गर्दै छन् । चलचित्रमा अनुपमसँगै अमिताभ बच्चन, बोमन इरानी, परिनिती चोपडा लगायतको अभिनय छ । नेपाली नायिका पारमिता रानाले पनि यो चलचित्रमा अभिनय गरिरहेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *