महिन्द्राले ल्यायो ट्रियो विद्युतीय अटो, ९६ रुपैयाँ खर्चमा १३० किमी गुड्ने

काठमाडौं । महिन्द्राको आधिकारीक वितरक अग्नी ग्रुप अन्तर्गतको अग्नी इनर्जी प्रालिले ९६ रुपैयाँको विद्युत चार्जबाट १३० किलोमिटर गुडाउन मिल्ने ट्रियो इलेक्ट्रीक अटो नेपाल ल्याएको छ । कम्पनीले काठमाडौंमा मंगलबार एक कार्यक्रममार्फत ट्रियो अटो सार्वजनिक गरेको हो ।

‘नेपालको सडकमा १ वर्षसम्म यसको परिक्षण पश्चात् विक्री सुरु गरेका हौं । यहाँको सबै किसिमको भूभागमा ट्रियोले उत्कृष्ट पर्फमेन्स प्रदान गर्छ’, अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्यावीनेट श्रेष्ठले भने ।

भारतमा विक्री सुरु भएको छोटो समयमा नै १० हजार सन्तुष्ट ग्राहक रहेको जानकारी दिँदै महिन्द्रा इलेक्ट्रीक मोविलीटी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत शुमन मिश्रले भनिन्, ‘नेपाल तिव्रगतिले विकास भइरहेको देश हो, यहाँ आफ्नै पानीको स्रोतबाट क्लीन इनर्जी उत्पादन भइरहेको छ । यस्तोमा ट्रियोले यहाँका साना व्यवसाय गर्न चाहनेहरुलाई उच्च प्रतिफल प्रदान गर्छ ।’

कार्यक्रममा उर्जामन्त्री पम्फा भुषलले नेपाल सरकारले सबै किसिमका सवारी साधन विद्युतीय प्रयोग गर्ने सरकारको नीति रहेको बताउँदै नेपालको आफ्नै विजुलीको प्रयोग बढाउने र आयात घटाउने लक्ष्यमा विद्युतीय सवारीसाधन सहयोगी हुने विश्वास आफू र सरकारले लिएको जानकारी दिइन् ।

महिन्द्राले उत्पादन गरेको ट्रियोमा ७.६ किलोवाट आवरको लिथियम आयोन व्याट्री दिइएको छ । उक्त व्याट्रीलाई ३ घन्टा ३० मिनेटमा घरायसी विजुलीको प्रयोगबाट फुलचार्ज गर्न सकिन्छ ।

एक पटक फुलचार्ज गर्दा ८ यूनिट विद्युत खपत हुन्छ । उक्त विद्युतको अधिकतम मूल्य १२ रुपैयाँले हिसाव गर्दा पनि फुल चार्जमा ९६ रुपैयाँ मात्र खर्च हुन्छ । एक पटकको फुलचार्जबाट १३० किलोमिटर यात्रा गर्न सकिने कम्पनीले दावी गरेको छ ।

यसको पावर पनि अहिले बजारमा उपलब्ध पेट्रोल तीन पाङ्ग्रेको भन्दा राम्रो रहेको छ । विद्युतीय भएको कारण यसको टर्क उत्कृष्ट छ । ४४ एनएम टर्क र १३.६ पीएस पावर प्रदान गर्छ ।

यसको प्रयोग गरेवापत एउटा चालकले वार्षिक २ लाख रुपैयाँ इन्धन खर्च बचाउन सक्ने देखिन्छ । क्लच र गियर नभएकोले यसलाई चलाउन पनि निकै सजिलो हुन्छ । चालक सहित ३ जनाले आरमदायी यात्रा गर्न सक्ने ट्रियोको मूल्य ८ लाख ४० हजार रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरिएको छ ।

धेरै प्रविधिमैत्री ट्रियोमा दुई ड्राइभिङ मोड, नेमो मोविलिटी प्लेटफर्म जस्ता चालकलाई सहयोग गर्ने फिचरहरु पाउन सकिन्छ । कम्पनीले यसमा ८० हजार किमी वा ३ वर्षको वारेन्टी प्रदान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *