खुशी भएर बाँच्न शरीरको ऊर्जा व्यवस्थापन गर्नुपर्छ

के तपाईँ बिहान ढिला उठ्नुहुन्छ ? अथवा उठ्ने बित्तिकै आलस्य महसुस गर्नुहुन्छ ? आफ्नो शरीरमा ऊर्जा महसुस गर्न क्याफिनयुक्त पेय पदार्थको सहायता लिनुपर्ने अवस्था छ ? यदि त्यस्तै महसुस भएको छ भने शरीरमा ऊर्जा व्यवस्थापनको योजना बनाउने समय भइसकेको छ । यो काम सुरु गर्न गाह्रो हुने अथवा डर लाग्ने हुन सक्छ । तर बिस्तारै शरीरको ऊर्जा व्यवस्थापन गर्न सुरु गरिन्छ त्यसपछि छिट्टै यसका फाइदाहरूले खुशी र सन्तुष्टि दिन थाल्छ । अझै स्वस्थ र उत्पादनशील जीवन बाँच्न सकिन्छ ।

शरीरमा ऊर्जा व्यवस्थापन भनेको के हो ?
ऊर्जालाई एक सीमित संसाधनको रूपमा सोचौँ जस्तै बैङ्क खातामा जम्मा गरेको रकम । त्यसपछि व्यक्तिले एक निश्चित रकम मात्र खर्च गर्न दिनको सुरुवात गर्छ । त्यसरी गर्ने खर्च व्यक्तिअनुसार फरक फरक पर्छ । खर्च निर्धारण गर्ने तत्त्वहरू उमेर, निद्रा, तनावको स्तर, स्वास्थ्यस्थिति र जीवनशैली अनुसार फरक पर्छ । जसरी खातामा भएको पैसा दिनभरि गरेका क्रियाकलापले घट्दै जान्छ र थप पैसा खातामा जम्मा गर्नु आवश्यक हुन्छ त्यसरी नै शरीरबाट ऊर्जा खर्च भएपछि फेरी ऊर्जा जम्मा गर्नु आवश्यक हुन्छ । सधैँभरि हाम्रो शरीरमा ऊर्जा घटाउने तत्त्वलाई हामी नियन्त्रण गर्न सक्दैनौँ । तर शरीरमा अधिक ऊर्जा जम्मा पार्न भने हामी पछि पर्नु हुँदैन । सोही कार्यलाई शरीरमा ऊर्जा व्यवस्थापन भनिन्छ ।

यी सामान्य कुरा ख्याल गरे खुशीसाथ बाँच्न सकिन्छ :-

पौष्टिक तत्त्वले भरपुर खाना खाने
हामी सबैलाई थाहा छ स्वस्थ खाना खानु जरुरी हुन्छ तर हामी तौल घटाउनै पर्ने अवस्थामा मात्रै स्वस्थ खाना खानुपर्छ भने जस्तो गर्छौ । सन् २०१५ मा अमेरिकाले बनाएको डाइट गाइडलाइन अनुसार सन्तुलित भोजन हुन उच्च मात्रामा फलफूल,तरकारी, प्रोटिन, थोरै फ्याट भएको डेरीका उत्पादनहरू, अन्न सबै खानुपर्छ । यसले मात्र शरीरमा आवश्यक ऊर्जा पूर्ति हुन सक्छ । कोही व्यक्ति कस्तो छ भन्ने कुरा उसले कति र के खाने कुरा खान्छ भन्नेमा निर्भर रहन्छ । सबै खाद्य समूहबाट कम्तीमा एउटा खाना छानेर खानाले एक दिनभरिको लागि आवश्यक पर्ने ऊर्जा शरीर लाही प्राप्त हुन्छ । विशेष गरी ताजा फलफूल, तरकारी, गाढा हरियो रङका सागसब्जी, सुन्तला रङका तरकारी, गाजर, सखरखण्ड दैनिक रूपमा खानुपर्छ । कार्बोहाइड्रेट प्राप्तिका लागि पास्ता, भात रोटीमध्ये केही एउटा मात्र खान सकिन्छ ।

प्रत्येक रात ८ घण्टा सुत्ने
प्रशस्त मात्रामा निदाउनाले स्वस्थ हुन मद्दत गर्छ । त्यसैले अहिले मानिसहरू आफ्नो सुत्ने समय र बानीलाई व्यवस्थित तरिकाले सुधार्दै लैजाने गरेका छन् । हामीलाई थाहा छ हामी कम्तीमा पनि प्रत्येक रात ७ घण्टा सुत्नैपर्छ । यो सबै थाहा छ भने के ले रोकिरहेको छ त ? त्यसैले आफ्नो निन्द्रा बिगार्ने सबैभन्दा ठूलो तत्त्वबारे पत्ता लगाउनुपर्छ । त्यस सँगै कम निदाउनुले ल्याउने स्वास्थ्य सम्बन्धी समस्याहरू, सोचाइमा ल्याउने नकारात्मकता, उत्प्रेरणा घट्ने, ऊर्जाको स्तर घट्ने बारे पनि थाहा पाउनु जरुरी छ । त्यसैले आफ्नो निन्द्रा र सुत्ने समयलाई प्राथमिकतामा राख्नाले सफलता प्राप्त गर्नुका साथै ऊर्जाशील दिन बिताउन सकिन्छ ।

असल मानिससँग सङ्गत गर्ने
जो व्यक्तिको समूहमा बस्दा अथवा समय बिताउँदा रमाउन सकिन्छ, खुशी हुन सकिन्छ त्यस्ता व्यक्ति र समूहसँग धेरै समय बिताउनुपर्छ । सकारात्मक सोच भएका र आफूसँग रुचिहरू मिल्ने व्यक्तिसँग कुरा गर्दा, समय बिताउँदा शरीरमा ऊर्जा उत्पन्न हुन्छ । त्यसको ठिक विपरीत आफूसँग रुचि नमिल्ने, नकारात्मक कुरामा बढी केन्द्रित हुने, बढी टीकाटिप्पणी गर्ने व्यक्तिसँग सङ्गत गरेमा शरीरको ऊर्जा घट्दै जान्छ । त्यसैले कस्ता व्यक्तिसँग सङ्गत गर्ने र घुलमिल हुने भन्नेबारे सतर्क रहेर निर्णय गर्नुपर्छ ।

समाचार धेरै नपढ्ने, नसुन्ने, नहेर्ने
विश्वमा के भइरहेको छ भन्नेबारे थाहा पाउन समाचार महत्त्वपूर्ण हुन्छ । समाचार शैक्षिक, मनोरञ्जनात्मक र उत्थान गर्ने हुन्छन् । तर निरन्तर समाचार सुनिरहने, हेरिरहने, पढिरहने गर्नाले दुख, पीडाको कथाबारे पनि थाहा हुन्छ जुन कती सत्य हुन्छन् भने कती सत्य हुँदैनन् । यसले अस्वाभाविक रूपमा संसार हेर्ने दृष्टिकोणलाई नकारात्मक रूपमा परिवर्तन गर्न सक्छ त्यति मात्र नभई आफू वरिपरि भएका राम्रो, सकारात्मक कुरा देख्नै नसक्ने बनाउँछ । यसको अर्थ ती सबै कथाबाट बाहिर बस्नु भन्ने होइन तर त्यस्ता कथा सुन्ने, हेर्ने र पढ्ने समयलाई सीमित गर्नुपर्छ ।

दैनिक व्यायाम गर्ने
के तपाईँले आफूलाई अल्छी र आलस्य भएको महसुस गर्नुभएको छ ? के तपाई आफ्नो सामान्य जीवनशैली जस्तै किराना पसलमा गएर सामान किनेर ल्याउनु, घरको कामहरूमा मात्रै भुलेर बस्नु भएको छ ? त्यस्तो गर्दै हुनुहुन्छ भने अमेरिकाको शारीरिक गतिविधि सम्बन्धी गाइडलाइनलाई पछ्याउनुपर्ने बेला भइसकेको छ । जस अनुसार प्रत्येक हप्ता कम्तीमा पनि १५० मिनेट शारीरिक व्यायाम आवश्यक पर्छ । यसो गर्नाले तपाईँको शरीरमा सकारात्मक ऊर्जा थपिँदै जान्छ । व्यायामले तनाव घटाउने, मांसपेशीहरू बलियो बनाउने, सहनशीलता बढाउने काम गर्छ । जसले गर्दा अरू शारीरिक र मानसिक काम गर्न सहयोग पुग्छ ।

हरेक दिन केही अर्थपूर्ण काम गर्ने
तपाईँका के प्राप्तिका लागि निरन्तर लागिरहनु भएको छ ? तपाइसँग केही त्यस्ता प्रतिभाहरू छन् जुन तपाई अझै धेरै मेहनत गरेर अरूलाई देखाउन चाहनु हुन्छ ? यदि त्यस्तो केही छ भने त्यसका लागि काम गर्नुपर्छ । हरेक दिन आफू रमाउन सक्ने केही काम गर्नुपर्छ । जस्तै सामान्य केही परिकार बनाउने, आफूलाई मन पर्ने गीत सुन्ने किन नहोस् ? आफ्नो बल त्यतातिर खर्च गर्नुपर्छ जुन काम गर्नु आफूलाई अर्थपूर्ण लाग्छ । त्यसले शरीरमा ऊर्जा दिनुको साथै आफूमा लगाव भएको विषयप्रति थप राम्रो बनाउँछ ।

अरूको बारेमा राम्रो सोच्ने
एक दयालु मानसिकता राख्नु भनेको शरीरमा रहेको ऊर्जा संरक्षण गर्ने अर्को तरिका हो । यस्तो अभ्यासलाई विनम्र हुनु भनिन्छ । उदाहरणको लागि अपरिचितसँग आँखा जुध्यो भने पनि मिठो मुस्कान दिएर हिँड्ने । उसले सोचोस् की यसले मेरो बारेमा राम्रो सोचिरहेको छ । यस्तो सकारात्मक कार्यले मानिसहरूलाई अनावश्यक मूल्याङ्कन गर्ने बानी विकास हुन दिँदैन । अरूलाई मूल्याङ्कन गर्नुको सट्टामा आत्मालोचना गर्न सिक्यौ भने मनमा अरूको बारेमा चलेका नकारात्मक संवादलाई नियन्त्रण गर्न सकिन्छ । यी सामान्य कुरामा ध्यान दिएमा आफ्नै हेरचाहमा आफ्नै लगानी बढ्छ ।

मायो क्लिनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *