प्रभुकाे दाबी- ‘प्रचण्डको नेतृत्वमा सच्चा क्रान्तिकारीहरू एकताबद्ध हुन सक्दैनन्’

काठमाडौँ । आफू कुनै पनि दलमा नरहेको दाबी गर्दै आएका नेता प्रभु साहले आफ्नो पूर्वदल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सच्चा माओवादी/क्रान्तिकारीहरू गोलबद्ध हुन नसक्ने ठोकुवा गरेका छन् । ‘आफनो व्यक्तिगत स्वार्थका कारण माओवादी आन्दोलनलाई टुक्रा-टुक्रा गरी सिङ्गै देशलाई नै अस्थिरताको खाँडलमा धकेल्ने प्रचण्डको नेतृत्वमा कोही पनि सच्चा माओवादी/क्रान्तिकारीहरू एकताबद्ध हुन सक्दैनन्,’ बिहीबार (आज) आफ्नो आधिकारिक फेसबूकमार्फत नेता साहले लेखेका छन् ।

प्रचण्डकै कारण आज हजारौं योग्य नेपालीहरू पलायन हुन बाध्य रहेकोसमेत नेता साहको जिकिर छ । उनले भनेका छन्, ‘महान् जनयुद्ध र हजारौं शहीदको अपमान गरेर कुर्सीको चक्करमा खिचडी संसदीय व्यवस्था खडा गरी देशलाई अन्यौलग्रस्त एवम् अस्थिर बनाउने प्रचण्डकै कारण आज हजारौं योग्य नेपालीहरू विदेश पलायन हुन बाध्य छन् ।’

यस्तै नेता साहले वर्तमान राष्ट्रिय राजनीतिमा देखिएको समस्याको समाधान क्रान्तिकारीहरूको ध्रुवीकरण रहेको दाबी गरेका छन् । ‘वर्तमान राजनीतिक संकटको अग्रगामी निकासको लागि क्रान्तिकारीहरूको ध्रुवीकरण अपरिहार्य आवश्यता हो,’ नेता साहले भनेका छन्, ‘यसको लागि आफू निरन्तर क्रियाशील रहेको कुरा सर्वविदित नै छ । तर, जनतालाई धोखा दिने अनैतिक, असफल र अविश्वसनीय व्यक्तिको नेतृत्वमा कदापि होइन ।’

साह पूर्वमाओवादी नेता हुन् । उनले ०७७ फागुनमा एमालेमा प्रवेश गरेका थिए । त्यसपछि केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डलमा मन्त्री बनेका साह मन्त्री पद गुमेसँगै एमालेमा असन्तुष्ट बनेका छन् । उनले गत असोजमा एमालेमा ८ बुँदे माग राखेका थिए । विधान महाधिवेशनको तयारीमा रहेको एमालेले त्यसबेला उनको मागको कुनै सम्बोधन गरेन । त्यसपछि उनले असोज १५ देखि १७ गतेसम्म चलेको एमाले विधान महाधिवेशनसमेत बहिष्कार गरे ।

साहलगायतका अन्य ४ नेताहरूले माओवादी केन्द्र खारेज हुनुपर्ने माग राख्दै निर्वाचन आयोगसमेत पुगेका थिए । तर, आयोगले माओवादी केन्द्र वैधानिक रहेको ठहर गरेपछि उनीहरू जिल्ल परेका छन् । साहबाहेकका रामबहादुर थापा, मणि थापा, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरीलगायतका नेताहरू भने एमालेमै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *