सांसद पद पुनःबहालीको माग गर्दै सर्वोच्च पुगे ४ पूर्वमाओवादी नेता

काठमाडौं । पूर्वमाओवादी पृष्ठभूमि भएका ४ एमाले नेताहरु सांसद् पद पुनःबहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी सांसद् पद पुनःबहालीको माग गर्दै रिट लिएर सर्वोच्च पुगेका हुन् । गौरीशंकर चौधरीले मकालुखबरसँग भने— ‘हो, हामी सर्वोच्च पुगेका हौँ । संविधान, माओवादीको विधानविपरीत गरिएको कारबाहीविरुद्ध हामी यहाँ आएका हौँ ।’

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पत्रका आधारमा संसद् सचिवालयले आफूहरुलाई सांसद पदबाट मुक्त गर्ने निर्णय संविधानविपरीत भएको नेताहरुले उल्लेख गरेका छन् । उनीहरुले निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरुको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने माग गरेका छन् ।

उनीहरूले निर्वाचन आयोगको विवरणमा एमालेको सदस्यका रूपमा आफूहरूको नाम नरहेको र एमालेको कति नम्बर सदस्य भनेर आफूहरूलाई कारबाही गर्ने पक्षले देखाउन पनि नसकेको भन्दै सफाइको मौकासमेत नदिई गरिएको कारबाही उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरेका छन् ।

माओवादी केन्द्रीय समितिले गर्नुपर्ने निर्णय प्रचण्डले मात्र गरेको र विधानले अध्यक्षलाई दिएको ५ वटा अधिकारमा प्रतिनिधि सभा सदस्यको पद खारेज गर्ने अधिकार नरहेको रिट निवेदनमा उल्लेख गरिएको छ ।

उनीहरुलाई प्रचण्डले गत चैत्र २६ गते संसद् सचिवालयलाई पठाएको पत्रको आधारमा कारबाही गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *