दुई मौसम प्रणाली एकैसाथ सक्रिय हुँदा भारी वर्षा, यस्तो छ तीन दिनको पूर्वानुमान

काठमाडाैँ । नेपालबाट मनसुन बाहिरिएलगत्तै ठूलो वर्षा हुन्छ भन्ने कसैले सोचेका पनि थिएनन् । एक्कासि मौसम बदली भएर नेपालका विभिन्न क्षेत्र नराम्ररी प्रभावित हुन पुगेको छ ।

खास कारण के हो त भनेर सोधिएको जिज्ञासामा मौसमविद्ले दुइटा प्रणाली एकैसाथ सक्रिय हुँदा भारी वर्षा भएको बताएका छन् । हाल बङ्गालको खाडीमा र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ । त्यसैले भारी वर्षा गराएको वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले बताए ।

यो पनि : बाढीपहिरो र डुबानबाट प्रभावितहरूको उद्धार गर्न गृहमन्त्रीलाई प्रधान मन्त्रीको निर्देशन

यसले बिहीबार बिहानसम्मै प्रभाव पार्ने उनको भनाइ छ । बिहीबार दिउँसोबाट भने मौसम खुल्दै जानेछ । यो प्रणाली असोज ३१ बाटै सक्रिय भएको थियो । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन नै सार्वजनिक गरेर सतर्क गराएको थियो ।

दुई वटा प्रणाली सक्रिय हुँदा पश्चिम नेपाल (विशेष गरी सुदूरपश्चिम प्रदेश) नराम्ररी प्रभावित भएको छ । नेपालका विभिन्न क्षेत्रमा भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण प्रभावितको उद्दार तथा राहतमा मुलुककै ध्यान केन्द्रित भएको छ । यकिन विवरण आइनसके पनि विभिन्न १२ भन्दा बढी जिल्लालाई प्रत्यक्ष प्रभाव पारेको छ ।

वर्षाका कारण कालीकोट, डडेल्धुरा, बझाङ, गुल्मी, प्युठान, अछाम, डोटी, पाल्पा, कञ्चनपुर, दैलेख र बर्दियामा बढी प्रभाव परेको छ। मुख्यगरी सेती, महाकाली, कर्णाली, पश्चिम राप्तीलगायत ठूला तथा त्यसका सहायक नदीमा बाढीको बहाव उच्च रहेको छ ।

थप : सुदूरपश्चिममा बाढी पहिरोबाट १३ जनाको मृत्यु

प्राप्त विवरणअनुसार बेनी-मुस्ताङ, डोटीको भीमदत्त राजमार्ग, अछामको चौखुट्टे-अछाम-बाजुरा सडकखण्ड, बझाङको जयपृथ्वी राजमार्ग, बाजुराको मार्तडी-कोल्टी र साँफे-मार्तडी सडक बाढी पहिरोका कारण अवरूद्ध भएको गृह मन्त्रालयले जनाएको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान
अहिले देशको प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा पूर्ण बदली र बाँकी भू-भागहरूमाझमा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाकी प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

आज
दिउँसो: प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहने छ । प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेश प्रदेशका धेरै स्थानहरूका साथै बाकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरूका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरूमा हल्का हिमपातको सम्भावना छ । प्रदेश १ का थोरै र प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती: प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहने छ । प्रदेश १ र प्रदेश नं २का थोरै स्थानहरूमा साथै बाकी प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरूका हल्का हिमपातको समेत सम्भावना छ । प्रदेश १ को एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

बिहीबार
दिउँसो: प्रदेश न १, प्रदेश न २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: प्रदेश न १, प्रदेश न २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रहने छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाकी प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार
दिउँसो: प्रदेश न १, प्रदेश न २, बागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली र सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: प्रदेश न १, प्रदेश न २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली र सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेश प्रदेशका धेरै स्थानहरूका साथै बाकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना, देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरूका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरूमा हल्का हिमपातको सम्भावना र प्रदेश १ का थोरै र प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ । –राससकाे सहयाेगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *