सुदूरपश्चिममा बाढी पहिरोबाट १३  जनाको मृत्यु

धनगढी । सुदूरपश्चिममा आइतबार रातिदेखि आएको बाढी पहिरोबाट १३ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र सम्बन्धित जिल्लाको प्रहरीले दिएको जानकारीका आधारमा यो समाचार तयार गर्दासम्म डोटीमा आठ, बैतडीमा तीन र डडेल्धुरामा दुई जना गरेर १३ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले दिएको जानकारी अनुसार जिल्लाको सायल गाउँपालिका ६ मा पहिरोले घर पुरिँदा एउटै घरका दुई जनाको मृत्यु भएको छ भने ती जना घाइते भएका छन् । उनका अनुसार सायल गाउँपालिका–६ अलैतका डिलहादुर कुन्जेडाको घरमा पहिरो खस्दा उनका ११ वर्षका छोरा सागर कुञ्जेडा र १५ वर्षका आसिक कुञ्जेडाको मृत्यु भएको हो ।

सोही गाउँपालिकाकै वडा नम्बर १ का वर्ष ७४ का एक जना खोलाले बगाएर बेपत्ता भएका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
जिल्लाको शिखर नगरपालिका ११ बस्ने ३५/३६ वर्षीया मन्दिरा बलायरको पहिरोको ढुङ्गा टाउकोमा लागेर मृत्यु भएको छ । घाइते भएकी उनको सुजङ्ग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै जोरायल गाउँपालिकाको वडा नं ४ मा एकै परिवारका चार जनाको मृत्यु भएको छ । स्थानीय सइकडा खोलामा आएको बाढीले घर भत्काउँदा ४२ वर्षीय सेरबहादुर बिक, उनको छोरा १८ वर्षीय मोहन, १३ वर्षीया पबित्रा बिक र १६ वर्षीय रबिन बिकको मृत्यु भएको जिल्ला प्रहरी डोटीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले बताए ।

यसैगरी केआईसिहं गाउँपालिका वडा नम्बर ४ मा पहिरोको जोखिममा परि १६० जनाको उदार गरि गापाको कार्यालय तथा अन्य कार्यालयमा राखिएको छ । दिपायल सिलगढी नगरपालिका ८ मा करिब २० घर पहिरोको जोखिममा परेका र स्थानीयलाई नजिकैको दुर्गा आधारभूत विद्यालयमा राखिएको छ । यस्तै सोही गाउँपालिकाको वडा नम्बर ३ का ६३ वर्षीय जोगी सार्कीको मृत्यु भएको प्रहरी निरीक्षक चन्दले जानकारी दिए ।

उनले अझै क्षति विवरण आइरहेकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बताए । बैतडीमा जिल्लाको शिवनाथ गाउँपालिका–६ बसेडीमा पहिराले घर भत्किँदा तीन जनाको मृत्यु भएको छ । पहिरोले स्थानीय रामी पार्कीको घर भत्किँदा उनकी दुई बुहारी र एक नातिको मृत्यु भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउँदले बताए ।

मृत्यु हुनेमा १८ वर्षकी पवित्रा पार्की, २४ वर्षकी भानु पार्की र तीन वर्षको सोम पार्की रहेका छन् । प्रहरीले मृतकको उद्वार गरेको छ ।
यस्तै, डडेल्धुरामा पहिरोले परिएर र खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ भात डाँडामा पहिरोमा परेर ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको छ ।

सोही गाउँपालिकाकै वडा नं।३ बस्ने अन्दाजी ६०÷६५ वर्षीय महिलाको खोलाले बगाएर मृत्यु भएको छ । घर नजिकै रहेको खोलाबाट पाइपमा खानेपानी फर्काउने बेलामा माथिबाट आएको पहिरोसहितको भेलले बगाउँदा नर्मदादेवी शाहीको मृत्यु भएको हो ।

पहिरोले च्यापिएसँगै खोलाले बगाएपछि महिलाको करिब ५ सय मिटर तल शव भेटिएको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ । शव छेदविच्छेद भएको र कम्मरमाथिको भाग मात्रै भेटिएको छ । विद्युत् र टेलिफोन सेवा अवरुद्ध हुँदा सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको क्षतिको विवरण अझै प्राप्त हुन सकिरहेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *