रुबी खानले तोडिन् अनशन (तस्बिरहरू)

काठमाडौँ । बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता भएकोबारे छानबिन गर्न माग गर्दै आएकी रुबी खानले अनशन तोडेकी छन् । सरकारसँग सहमति भएसँगै रुबीले अनशन तोडेकी हुन् ।

माइतीघर मण्डलमा गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले रुबीलाई जुस खुवाएर अनसन तोडाएका हुन् । माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले रुबीलाई माला लगाइदिएकी थिइन् । अनशन तोडाउने कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका पूर्वआयुक्त मोहना अन्सारी,  काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहलगायत उपस्थित थिए ।

यसअघि सरकारी प्रतिनिधिले त्रिवि शिक्षण अस्पताल पुगेर अनशन तोडाउने भनिएपनि रुबीले माइतीघरमा अरु साथीहरुसँगै अनसन तोड्ने बताएपछि माइतीघरमै जुस खुवाएर अनशन तोडाइएको थियो ।

सरकारले दुबै घटनाको अनुसन्धान गर्ने र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि रुबी अनशन तोड्न सहमत भएकी हुन् । सहमतिअनुसार घटनाको अनुसन्धान गर्न सरकारले छानबिन समिति बनाउने छ ।

दुबै घटनाको अनुसन्धान गरि दोषीलाई कारबाहीको माग गर्दै नेपालगन्जदेखि २० दिन पैदल हिँडेर काठमाडौं आएका अधिकारकर्मी र आफन्तले माइतीघरमा १२ दिनदेखि धर्ना दिएका थिए ।

आन्दोलनको नेतृत्व गरिरहेकी रुबी खान ११ दिनदेखि आमरण अनशनमा छिन् । स्वास्थ्य अवस्था कमजोर बनेपछि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएकी थिइन् । अस्पतालमा पनि उनले अनसन जारी राखेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *