सडकमा सक्रिय नगर प्रहरी, सम्झाउँदा पनि टेर्दैनन् नागरिक (भिडिओ)

काठमाडौँ । मुगुका २५ वर्षीय गणेश नेपाली राइड सेयरिङ मार्फत गुजारा चलाउँथे । आफ्नो जग्गा धरौटी राखेर किनेको बाइकमा पठाओ गरेर उनले आफ्नो परिवार पाल्थे । सधैंझै असार २५ गते बिहान पनि उनि पठाओ मार्फत यात्रुलाई पुर्याउन राहदानी विभाग पुगेका थिए ।
यात्रु बाकेर राहादानी विभाग पुगेका उनले केही समय विभागको परिसरमा बाइक पार्किङ गरे । तर, अव्यस्थित पार्किङ गरेको भन्दै काठमाडौं महानगरका प्रहरीले उनलाई जरिवाना तिराउन खोजे । नेपालीसँग जरिवाना तिर्न पैसा थिएन । जरिवाना तिर्न नमानेपछि नगरप्रहरीले गणेशसँग विबाद गर्यो ।
महिला नगरप्रहरीसँग गणेशको नकझोक भएको भिडिओ पनि सार्वजनिक भएको छ । जसमा नगरप्रहरीले रुखो बोली बालेको सुनिन्छ, जसले गणेशलाई असहज बनाएको भिडिओमा देख्न सकिन्छ । विबाद बढ्दै गएपछि महानगर प्रहरीले उनको सवारीमा ‘ह्वील लक’ लगाइदियो ।
नगरप्रहरीको व्यवहार सहन नसकेर गणेशले आफ्नै शरिरमा आगो झोसे । उनले आफ्नो मोटरसाइकलबाटै पेटेल निकालेर आफ्नै शरिरमा छर्केर आत्मदाहको प्रयास गरे । लगत्तै उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । तर उनको उपचार हुन सकेन, २६ गते नै उनको दुःखद् निधन भयो ।
नगरप्रहरीको व्यवहार कठोर भएको र नियम पालनाका नाममा मानवता भुलेको भन्दै नगरप्रहरीको चौतर्फि आलोचना भइरहेको छ । चौतर्फी आलोचना भएपछि प्रहरीले महिला नगर प्रहरीसहित महानगर प्रहरीका पाँच कर्मचारीलाई नियन्त्रणमा लियो । यद्पी, सामान्य सोधपुछ पछि भने सबै जना छुटिसकेका छन् ।
गृहमन्त्री सुधन गुरुङले पनि घटनाको दोष काठमाडौं महानगर र नगरप्रहरीलाई दिए । संसदबाटै गुरुङले स्थानीय तहमा रास्वपाको सरकार नभएकाले त्यसको जिम्मेवारी पनि आफुले लिनुपरेको भन्दै संसदमै गर्जिएका थिए ।
यी घटनाक्रमपछि काठमाठौं महानगरपालिकाले आफ्ना नगरप्रहरीलाई सडकमा खटाउन बन्द गर्यो । नगरप्रहरीको सुरुक्षाको विषय उठाउँदै महनागरले आफ्ना कर्मचारीलाई सडकमा खटाउन छाडेको थियो ।
सडकमा नगरप्रहरी देखिन छाडेपछि काठमाडौंका फुटपाथ, न्यूरोड, बसन्तपुर क्षेत्रमा जथाभावि पार्किङ र व्यापार सुरु गरियो । सरकारको निर्देशनमा जथाभावि पार्किङ र व्यपार गर्न लगाइएको टिप्पणी पनि भयो । जसको सामाजिक संजालमा चौतर्फि विरोध र टिकाटिप्पणी भयो । संसदमा सत्तापक्ष र प्रतिपक्षले आ–आफ्नै किसिमले ब्याख्या गरे ।
यता, काठमाडौं महानगरपालिकाले भने सरकारले घटनाको छानबिन गर्न समिति गठन गरेको र समितिको प्रतिवेदन नआएसम्म नगर प्रहरीलाई फिल्डमा नखटाउने बताएको थियो । तर, संसद्मा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नगरप्रहरीहरुलाई मनोबल नघटाउन आग्रह गरेपछि फेरी नगरप्रहरी सडकमा देखिन थालेका छन् । उनिहरु सडकमा आफ्नो जिम्मेवारी पालना गर्न अग्रसर भएका छन् ।
नगर प्रहरीले सम्झाउँदा पनि टेर्दैनन् नागरिक
बुधबार दिउँसो करिब १२ बजे न्यूरोड क्षेत्रमा राइड–सेयरिङ सेवामा आबद्ध करिब ६–७ जना मोटरसाइकल चालक सडक किनारमा मोटरसाइकल पार्किङ गरेर यात्रुको प्रतीक्षामा बसेका देखिए । त्यस्तै, ताम्राकार कम्प्लेक्सतर्फ जाने सडकमा पनि मोटरसाइकल, कार र भ्यान लहरै रोकिएको अवस्था थियो ।
अव्यवस्थित पार्किङ हटाउन पुगेका काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले सिट्ठी बजाउँदै चालकहरूलाई सडक किनारमा सवारी नरोक्न आग्रह गरिरहेका थिए । केही नगर प्रहरीले सवारीधनी वा चालकको खोजी गर्दै नम्रतापूर्वक सवारी हटाउन अनुरोध गरे भने केहीले सिट्ठीमार्फत पार्किङ नगर्न सचेत गराइरहेका थिए ।
नगर प्रहरी टोली सडकको माथिल्लो र तल्लो भागमा निरन्तर गस्ती गर्दै चालकहरूलाई तोकिएको स्थानमा मात्रै सवारी राख्न आग्रह गरिरहेको देखिन्थ्यो । तर, पटक–पटकको आग्रहका बाबजुद पनि केही चालकले त्यसलाई बेवास्ता गर्दै सडक किनारमै सवारी रोकिराखेको अवस्था देखियो ।
मकालुखबरको स्थलगत अवलोकनका क्रममा न्यूरोड क्षेत्रमा अव्यवस्थित पार्किङप्रति अझै अपेक्षित सचेतना नआएको देखिएको छ । नगर प्रहरीले सम्झाउने, सचेत गराउने र सवारी हटाउन आग्रह गर्ने गरे पनि केही चालकहरूले नियम पालना गर्न चासो नदेखाएको पाइयो ।
सडक किनारमै जथाभावी पार्किङ हुँदा पैदल यात्रु, सवारी आवागमन तथा बजार क्षेत्रको व्यवस्थापनमा समेत समस्या देखिने गरेको छ । अव्यवस्थित पार्किङ नियन्त्रणका लागि महानगरले निरन्तर निगरानी र कारबाही गर्दै आए पनि व्यवहारिक रूपमा भने चुनौती कायमै देखिन्छ ।
हेर्नुहोस् तस्बिरहरू:










