ऐनबहादुर महरको चेतावनी- सरकार असफल भए लोकतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठ्छ

काठमाडौँ । नेकपा (एमाले) का मुख्य सचेतक ऐनबहादुर महरले वर्तमान सरकार असफल भए मुलुकको समग्र लोकतान्त्रिक पद्धति, गणतन्त्र र धर्मनिरपेक्षतामाथि नै प्रश्न खडा हुने चेतावनी दिएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकलाई सम्बोधन गर्दै प्रमुख सचेतक महरले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै यस्तो चेतावनी दिएका हुन् ।

प्रमुख सचेतक महरले राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले प्राप्त गरेको जनमत कुनै व्यक्ति विशेषको नभई समग्र युवा पुस्ताको विश्वासको अभिव्यक्ति भएको टिप्पणी गरे । महरले पछिल्लो समय स्थापित गर्न खोजिएको ‘३५ वर्षमा मुलुकमा केही पनि भएन’ भन्ने भाष्यको प्रतिवाद गरे । प्रजातन्त्र पुनर्बहाली पछिको अवधिमा भएका प्रगतिलाई नजरअन्दाज गर्न नमिल्ने तर्क गरे ।

महरले सरकारले ‘राज्य आतङ्क’ सिर्जना गरेको आरोप लगाए । उनले यातायात अवरोध गर्नेहरूलाई सामान्य जरिवानामा छोड्ने तर शान्तिपूर्ण विरोध गर्ने विद्यार्थीमाथि धरपकड गर्ने कार्य ‘रुल अफ ल’ नभई ‘रुल बाई ल’ भएको टिप्पणी गरे । करारमा रहेका करिब ६४ हजार कर्मचारीलाई निष्कासन गर्ने सरकारको तयारीप्रति लक्षित गर्दै उनले विदेशबाट रोजगारी दिन्छु भनेर युवा फिर्ता बोलाउने सरकारले स्वदेशमा कार्यरतलाई बेरोजगार बनाउनु विरोधाभासपूर्ण भएको टिप्पणी गरे ।

उनले वर्षायाममा हुने प्राकृतिक प्रकोप न्यूनीकरणका लागि सरकारको पूर्वतयारी शून्य रहेको भन्दै ध्यानाकर्षण गराए । कम्युनिस्ट विचार र सिद्धान्तमाथि अर्थमन्त्रीले गर्ने गरेका टिप्पणीहरूको आलोचना गर्दै महरले सामाजिक न्याय र विधिको शासनका लागि कम्युनिस्ट सिद्धान्त सान्दर्भिक रहेको दाबी गरे । उनले सरकारलाई ‘टाउकोले टेकेर उल्टो बाटो’ नहिँड्न र जनताको जीवनस्तर सुधारका लागि वास्तविक काम गर्न चुनौती दिए ।

उनले भने ‘यति धेरै जनसमर्थ प्राप्त सरकार पनि असफल भयो भने भोलिको दिनमा यो व्यवस्थापनमाथि गम्भीर प्रश्नहरू सिर्जना हुन्छन् । लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षतामाथि प्रश्न उठ्न सक्छन् । लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रे हो । व्यवस्थामाथि विभिन्न खालका खतराहरू आउने भएका कारण हामी यो व्यवस्थाको सुदृद्धिकरण चाहन्छौँ । यो व्यवस्थाको हामी दीर्घजीवन चाहन्छौँ । कुन पार्टी र कुन व्यक्तिले जित्यो भन्ने कुरा लोकतन्त्रमा गौण हो । प्रधान होइन । लोकतन्त्रलाई जित्नुपर्दछ, जनताले जित्नुपर्दछ र यो व्यवस्थाले जित्नुपर्दछ । हामीले यो व्यवस्था स्थापना गर्नको लागि ठुलो संघर्ष गरेर आएका छौँ । त्यसकारण यो सरकार सफल हुनुपर्छ । जनताको मतको सम्मान गर्न सक्नुपर्दछ । हामीले त्यो चाहेका छौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको जनमत बालेन्द्र साह र रवि लामिछानेको नामले मात्रै आएको जनमत होइन । मलाई के लाग्छ भने यो एउटा पुस्ताले प्राप्त गरेको जनमत हो । युवापुस्तामाथि नेपाली जनताले भरोसा गरे । देशको व्यवस्थाको परिवर्तन एउटा पुस्ताले गर्यो, नागरिकको अवस्थाको परिवर्तन अर्को पुस्ताले गर्छ भनेर युवापुस्तालाई विश्वास गरेर दिइएको जनमत हो भन्ने लाग्छ । त्यसकारण यो सरकार असफल हुँदा युवा पुस्ता असफल हुन्छ ।’

उनले सरकारी ढुकुटीबाट पारिश्रमिक लिने सबै जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउने नीति ल्याउन सरकारलाई चुनौती दिँदै केवल रङ फेर्ने ‘निलो क्रान्ति’ भन्दा पनि जनताको अवस्था फेर्ने क्रान्ति आवश्यक रहेकोमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =