स्वास्थ्य बीमा र औषधि खरिदमा व्याप्त अनियमितता सुधार्न रास्वपा सांसदको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजकिशोर महतोले स्वास्थ्य क्षेत्रमा ‘मेडिकल माफिया’ को प्रभावका कारण औषधि खरिद र स्वास्थ्य बीमा कार्यान्वयनमा गम्भीर बेथिति निम्तिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद महतोले सरकारी अस्पतालहरूमा स्वास्थ्य बीमाको भुक्तानी नहुँदा आम नागरिकले उपचार सेवा पाउन नसकेको बताएका हुन् ।

उनले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र शहीद गंगालाल हृदय केन्द्र जस्ता प्रमुख स्वास्थ्य संस्थाहरूमा बीमा भुक्तानीको समस्याका कारण बिमितहरू सेवाबाट वञ्चित हुनुपरेको उल्लेख गरे । सांसद महतोले औषधि खरिद प्रक्रियामा हुने नीतिगत भ्रष्टाचार र सेटिङको विषयलाई प्रमुखताका साथ उठाए ।

कम्पनी तथा आपूर्तिकर्ताहरूले सरकारी टेण्डरमा मिलेमतो गरी म्याद सकिन लागेका औषधिहरू आपूर्ति गर्ने गरेको दाबी गर्दै उनले टेण्डर नीतिमा तत्काल सुधार गर्न माग गरे । सांसद महतोले कुनैपनि औषधिको टेण्डर गर्दा कम्तीमा १५ महिनाको म्याद बाँकी हुनुपर्ने प्रावधान अनिवार्य गर्न र बीमाको रकम टेन्डरकै दरमा भुक्तानी हुने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरे ।

उनले भने ‘मानवीय स्वास्थ्यको अत्यावश्यकमध्ये एक औषधिको अवस्था र व्यवस्था दुवै दयनीय रहेको छ । जसको कारणले गर्दा वीर अस्पताल, टिचिङ अस्पताल र गंगालाल अस्पतालले स्वास्थ्य बीमाको भुक्तानीले बिमितहरुले सुविधा पाउन सकेको छैन । त्यसमा केही मेडिकल माफियाहरूले गर्दा यस्तो अवस्था सिर्जना भएको हो । जसको कारण हो टेण्डर प्रक्रिया र नियर स्पाइरी औषधि विक्री वितरण हुनु । सम्माननीय सभामुख महोदय ८० पैसामा ग्यासटाइटिसको औषधी प्यान्टो प्राजोल खरिद गर्दा सरकारसँग एक हजार प्रतिशत मुनाफा राखी ८ रुपैयाँ क्लेम गर्दछ । त्यस्तै कम्पनी तथा सप्लायर्सहरुले नियर स्पाइरी औषधिहरू सेटिङमा खरिद विक्री गर्दछ । तसर्थ सिभिल अस्पतालको घट्नामा स्वास्थ्य मन्त्रालय र सरकारलाई धन्यावाद दिँदै प्रत्येक स्थानीय तह तथा सरकारी अस्पतालहरूमा लुटतन्त्रको धन्दा फस्टाएको छ । यो जालोलाई तोड्नुपर्नेछ । त्यसकारण स्वास्थ्य टेण्डरको नीतिमा सुधार आवश्यक छ ।’

स्वास्थ्य जस्तो संवेदनशील विषयमा राज्य गम्भीर नबन्दा नागरिकले अकालमा ज्यान गुमाउनुपरेको भन्दै उनले स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =