वर्षाको प्रभाव अझै केही दिन रहने

काठमाडौँ । देशका विभिन्न भागमा भइरहेको बर्षा अझै केही दिन पूर्णरुपमा नरोकिने भएको छ । बर्षा गराइरहेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव अझै केही दिन रहने भएकाले अहिले भइरहेको बर्षा पूर्णरुपमा रोकिन केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बङ्गालको खाडी र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले देशको धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

 पाकिस्तान, भारत हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायु अहिले नेपालको पूर्वी भागतर्फ सरिरहेको छ । यो वायु सुस्त गतिमा अघि बढ्ने भएकाले नेपालमा अझै केही दिन प्रभाव रहने महाशाखाले जनाएकाे छ । केही दिन देखि प्रदेश नं १ र  पश्चिमी भेगमा भारी वर्षा भएको छ ।

काठमाडौँ उपत्यकासहित धेरै ठाउँमा वर्षा भइरहेको छ । उपत्यकाको आकाशमा बिहानैदेखि कुहिरो लागेको छ । महाशाखाका अनुसार दिपायलमा १६६, डडेलधुरामा १५५, घोराहीमा १३३, भैरहवामा ११२, धनगढीमा ९० र पोखरामा ५६ मिलिमिटर वर्षा भएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २ लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

साथै, सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ का केही स्थान र प्रदेश नं २, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । रातिको समयमा पनि प्रदेश नं १र लुम्बिनी प्रदेशका थोरै स्थान, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाकाअनुसार आज काठमाडौँ अधिकतम तापक्रम २५ र न्यूनतम तापक्रम १८ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *