प्रशिक्षक अलमुताइरीले गरे नेपाल फर्कन सक्ने संकेत, भन्छन्- ‘केही समयमा निर्णय गर्छु’

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल फर्कन सक्ने संकेत गरेका छन् । माल्दिभ्समा साफ च्याम्पियनसिपको फाइनलपछि प्रशिक्षक अलमुताइरीले नेपाल र नेपाली फुटबल सधैँ आफ्नो मनमा रहने भन्दै नेपालसँगको फुटबल यात्रा सधैँ स्मरणीय रहने बताए ।

साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपालको अहिलेको टिमसँग आफूलाई सधैँ गर्व हुने र नेपालले पनि आफूलाई धेरै कुरा दिएको भन्दै त्यो कहिल्यै नभुल्ने बताए । ‘मैले मात्र नेपाली टिम बनाएको होइन’, उनले भने, ‘नेपालले पनि मलाई विश्वमा कसैले नदिएको मौका दिएको हो ।’ यो कुरा म भुल्न सक्दिन ।’

कतार, कुवेत र नेपाल आफ्नो मुटुमा रहेको, रहिरहने र कसैले पनि त्यसलाई हटाउन नसक्ने उनले बताए । आफूलाई नेपालीहरूले धेरै नै माया दिएको र केही व्यक्तिले नराम्रो भन्नुमा कुनै अनौठो नभएको उनको प्रतिक्रिया थियो । ‘केही मानिसले नराम्रो भने भनेर म गुनासो गर्दिनँ, जसरी हातका सबै औँला एकै हुँदैनन् त्यस्तैगरि मानिस पनि एकै हुँदैनन् ।’

उनले अब एक दुई हप्ता आराम गरेपछि मात्र आफूले भविष्यबारे निर्णय गर्ने बताए । ‘६ महिनादेखि मैले धेरै नै कडा मेहनतका साथ काम गरेँ, अब एक दुई हप्ता मलाई आरामको जरुरत छ । त्यसपछि मात्र म बाँकी कुराबारे निर्णय गर्नेछु,’ उनले भनेका छन् ।

यसअघि भने उनले आफूलाई नकारात्मक रूपमा चित्रण गरिएको, खेल मिलेमतो गरेको आरोप लगाइएको भन्दै अब नेपाल नफर्किने बताएका थिए । उनले आफूले यसअघि नै एन्फालाई राजीनामा बुझाए पनि लागू नभएको र अब लागू हुने बताएका थिए । नेपाल फाइनल पुगेपछिको पत्रकार सम्मेलनमा उनी आक्रोशित हुँदै अब कहिल्यै नेपाल नफर्किने बताएका थिए ।

आफूले नेपाली टिम सम्हाल्दा तीनवटा लक्ष्य सुनाएको र त्यो प्र्राप्त गर्नेभन्दा केहीले आफूलाई खिसीट्युरी गरेको स्मरण गर्दै उनले कडा मेहनत र योजनाअनुसार अघि बढ्नाले यो सम्भव भएको दाबी पनि गरे । ‘मैले तीनवटा लक्ष सुनाउँदा कतिपयले मैले राष्ट्रिय टिममा कोचिङ गरेको छैन भनेर हाँसे पनि,’ उनले भने ‘तर तर मैले योजना बनाएको थिएँ । अनि हामीले त्यसैमा कडा मेहनत गर्यौँ र त्यो लक्ष्य हासिल भयो ।’

प्रशिक्षक अलमुताइरीले फुटबलको विकास चाहने हो भने सबै नेपालीले आफ्नो राष्ट्रिय टिमलाई माया गर्नुपर्ने पनि बताए । ‘तपाईं सधैँ आफ्नो टिमलाई माया गर्नुहोस्, चाहे कोच होस् कि नहोस्,’ उनले भनेका छन् ।

प्रशिक्षक, फुटबल संघ वा सरकारभन्दा धेरै माया राष्ट्रिय टिम र खेलाडीलाई गर्नुपर्ने उनले बताए । ‘अब नेपाली टिम स्वदेश फर्किँदा नेपाली खेलप्रेमीले उनीहरुलाई भव्य स्वागत गर्नुपर्छ,’ उनले भनेका छन् ।

फाइनल हार्नुको कारण अनुभव पनि एक भएको उनको भनाइ छ । ‘फाइनलमा हामीसँग अनुभव पनि थिएन । पानीले पनि केही अवरोध गर्यो । एक मिनेटभित्र दुई गोल खाइन्छ भने पक्कै टिमलाई समस्या हुन्छ,’ उनले भनेका छन् । नेपालले खेलाडी परिवर्तन गरेपछि खेलमा थप सुधार गरेको दाबी उनको थियो ।

फाइनल खेलपछि भारतीय टिमका कप्तान सुनिल क्षेत्रीले पनि नेपाल टीम राम्रो रहेको भनेको भन्दै अलमुताइरीले विपक्षी टिमले राम्रो छ भन्नुको अर्थ हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *