नेपाललाई उपाधिबाट वञ्चित गर्न मलाई कारबाही गरियो: अल्मुताइरी

काठमाडौँ । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दक्षिण एसियाली फुटबल फेडेरसन (साफ) ले नियम विपरीत नेपाली फुटबलमाथि अन्याय गरेको बताएका छन् ।

साफ च्याम्पियनसिपको फाइनलमा भारतसँगको खेलमा आफूलाई टचलाइनमा जान नपाउनेगरी प्रतिबन्ध लगाउने साफको निर्णय आफ्नै नियमावली विपरीत रहेको र त्यसले आफूलाई मात्र नभई नेपाली फुटबललाई नै अन्याय गरेको उनको भनाइ छ । साफले प्रतियोगिताको नियमावली मिचेर आफूलाई प्रतिबन्ध गरेको उनको भनाइ छ ।

‘साफले अन्याय गरेको छ । व्यक्तिगत रिसइवीको कारण साफले कारबाही गरेको लाग्छ,’ भर्चुअल प्रेस कन्फरेन्समा उनले भने, ‘साफले आफ्नो नियमलाई पालना गरेन । मलाई कारबाही गर्न नियम परिवर्तन गर्‍यो । यो मलाई नभएर नेपाली फुटबलमाथिको कारबाही हो ।’

प्रशिक्षक अल्मुताइरीले नेपाललाई उपाधि जित्नबाट वञ्चित गर्न यसो गरिएको समेत आरोप लगाए । ‘मलाई लाग्छ उनीहरू नेपालले जितेको हेर्न चाहँदैनन् र यो समस्या सिर्जना गरेका हुन्’  उनले भनेका छन्, ‘ यो मलाई ब्यक्तिगत रुपमा नभएर नेपालको मूख्य प्रशिक्षकलाई गरिएको कारबाही हो । जुन साफकै कानून विपिरत छ ।’

उनले नेपालले उपाधि जित्नका लागि खेल्ने पनि बताएका छन् ।
प्रशिक्षक अल्मुताइरीले आफ्नो अधिकार र प्रतिबन्धविरुद्ध फिफा, एएफसी र साफमा अपिल गर्ने अल्मुताइरीको भनाइ छ ।

याे पनि : नेपाललाई इतिहास रच्ने मौका

प्रशिक्षक अल्मुताइरीले लिग चरणमा श्रीलङ्का र बंगलादेशविरुद्ध पहेँलो कार्ड पाएका थिए । जसको कारण देखाउँदै साफले फाइनलमा उनलाई ‘डगआउट’ मा बस्न नपाउने पत्र दिएको थियो । जसअनुसार अल्मुताइरीले फाइनल खेलमा टच लाइनमा जान पाउने छैनन् ।

साफको नियमावलीमा भने फरक खेलमा पहेँलो कार्ड पाएका खेलाडीलाई मात्र प्रतिबन्ध लाग्ने उल्लेख गरिएको छ । पदाधिकारीले एकै खेलमा रातो कार्ड पाएमा भने प्रतिबन्ध ब्यहोर्नुपर्नेछ । जसअनुसार मालदिभ्ससँगको खेलमा रातो कार्ड पाएका भारतका प्रशिक्षक इगोर स्टिमाच पनि टच लाइनमा हुने छैनन् ।

साफको फाइनलमा नेपाल आज भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार राती पौने ९ बजेपछि शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *