घरीघरी किन रिसाउँछन् अलमुताइरी ?

काठमाडौँ । फुटबलमा टिमको जीतमा सधैँ प्रशिक्षकको हात रहने गर्छ । टिमको नजितामा प्रशिक्षक फ्रन्ट लाइनर हो ।

त्यही भएर टिमको हार वा जीतमा प्रशिक्षकको पनि नाम स्वतः जोडिएर आउँछ । टिमको प्रदर्शन राम्रो नहुँदा प्रशिक्षक बर्खास्त हुने वा आफैँ टिम छोडेर जाने गरेका उदाहरण पनि प्रशस्तै छन् । त्यहि भएर प्रशिक्षकको जागिर स्थायी होइन‚ करारको हुन्छ । टिमले गर्ने प्रदर्शन र ओनर (क्लब, देश)ले गरेको विश्वासले यो यात्रा कति लामो हुने भन्ने तय हुन्छ ।

विश्व फुटबलमा धेरै पछि रहेको नेपाल सधैँ एउटा लक्ष्यमा सीमित हुनु परेको छ । नेपाल दशकौँदेखि दक्षिण एसियाली फुटबलमा आफ्नो दाबेदारी पुष्टि गर्ने लक्ष्यमै रहँदै आएको छ । आफ्नो क्षेत्रको सर्वाधिक ठूलो यो प्रतियोगिताको उपाधिमा दाबेदारी हरेकपटक प्रतियोगितासँगै सुरु हुन्छ । तर, दुर्भाग्य ! त्यो लक्ष्य सधैँ आधा बाटोमात्र पुग्न सक्छ र टुंगिन्छ । राष्ट्रिय टिमका प्रशिक्षक फेरिएपिच्छे उनीहरूको लक्ष्य नै कम्तीमा ‘दक्षिण एशियाली प्रतियोगिताको फाइनल’मा पुग्ने नै हुन्छ ।

नेपालको यो पटकको कथा भने केही फरक रह्यो । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले साफ च्याम्पियनसीपको संरचना परिवर्तन गर्योा । सहभागी टीम ५ वटा मात्रै हुने भएपछि राउन्ड रोविन लिगका आधारमा प्रतियोगिता गर्ने तय भयो । अर्थात् सबै पाँच टीमले समूहचरणमा एक अर्काविरुद्ध प्रतिस्पर्धा गर्ने र शीर्ष दुई टीम फाइनलमा भिड्ने गरी प्रतियोगिताको ढाँचा तय गरियो ।

हरेकपल्ट सेमीफाइनलमै टुट्ने गरेको नेपालको यात्राले यो पटक ‘सेमिफाइनल खेल्नु नपर्ने’ फरक ढाँचाको फाइदा उठाउँदै फाइनलमा स्थान बनायो ।

बंगलादेशलाई कठिन तरिकाले बराबरीमा रोकेर फाइनल यात्रा तय गरेसँगै नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी चर्चा र केही विवादमा पनि आएका छन् । उनले बंगलादेशको खेलपछि नेपाली सञ्चारमाध्यम र खेल पदाधिकारीहरूप्रति पनि तीतो पोखे । आफूले खेल मिलेमतोमा जितेको भनेर समाचार लेखेको भन्दै उनी पत्रकारहरूसँग जङ्गिए ।

भारतसँगको खेलमा प्रशिक्षक अलमुताइरीले खेल मिलेमतो गरेको भन्ने आरोप लगाएको भन्दै उनले त्यसयताका तीन दिन सुत्न र केही खान पनि नसकेको बताए । आफ्ना पनि परिवार र छोराछोरी रहेको भन्दै उनले विज्ञापनका लागि ‘जे पायो त्यहि लेख्ने’ भन्ने शैलीमा पत्रकारलाई गाली गरे । आफ्नो कोचलाई इज्जत गर्नुपर्ने भन्दै उनले आफू कसैको दास नभएको समेत बताए ।

उनको शैली र विवाद
नेपाली राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकका रुपमा काठमाडौँ उत्रिएसँगै अल्मुताइरीले सरकार र एन्फाभन्दा बढी फुटबल समर्थक र खेलाडीमा ध्यान केन्द्रित गरे । टीमको स-सानै खुसी पनि उनले समर्थकसँग साट्न थाले । उनको यो शैली यसरी लोकप्रिय बन्यो कि उनी सर्वाधिक धेरै फ्यान फलोइङ भएका नेपाली प्रशिक्षक बने ।

छोटो समयमा नेपाली फुटबल समर्थक र प्रशिक्षक अलमुताइरीबीचको यो सुमधुर सम्बन्ध स्वभाविक रुपमा धेरैका लागि आश्चर्य र कतिपयलाई टाउको दुखाइको विषय पनि बन्यो । एन्फाभित्रको राजनीतिक र व्यक्तिगत टकरावको किचलोले पनि यसमा काम गर्ने नै भयो । तर प्रशिक्षक अलमुताइरीले आफ्नो रफ्तार कायम राखे । मनमा लागेका कुरा उनले सम्बन्धित निकायमा भन्दा पहिले सामाजिक सञ्जालमा पोस्ट गर्न थाले । यसले प्रणालीगत समस्या ल्याउने भन्दै एन्फा भित्रैबाट प्रशिक्षक अलमुताइरीको आलोचना हुन थाल्यो ।

उनले आफ्नो सोही शैली कायम राख्दै उनले प्रशिक्षकबाट राजीनामा दिने घोषणा फेसबुकबाटै गरे । उनले एन्फा वरिष्ठ उपाध्यक्षको नामै लिएर सामाजिक सञ्जालमा स्टाटस लेखेपछि यो विवादबारे मन्त्रालय हुँदै राखेपको समितिले छानबिन गरी प्रतिवेदन नै बनायो । जसमा प्रशिक्षक अलमुताइरी असन्तुष्ट थिए ।

यसैपनि मनमौजी पाराका यी प्रशिक्षक टिममा नयाँ खेलाडीलाई जोड दिएसँगै त्यसले निकाल्न थालेको सकारात्मक नतिजाले अझै हौसिन पुगे । नेपाली फुटबलमा उनले गरेका प्रयोगहरू सफल हुन थालेपछि उनलाई नेपाली फुटबल समर्थकको अपूर्व समर्थन रहने नै भयो ।

यद्यपि उनले साफसम्म नेपालाई प्रशिक्षण गर्ने बताए । योबीचमा नेपालले साफमा राम्रो प्रदर्शन गर्योव । घरेलु टोली माल्दिभ्स र श्रीलंकालाई हराउँदै दुई खेलबाट ६ अंक बनाएको नेपाल भारतसँग १–० ले पराजित भयो । उक्त खेलमा नेपालको शैलीलाई लिएर आलोचना भएको थियो । प्रतियोगितामा कमजोर प्रदर्शन गरिरहेको भारतसामु, राम्रो प्रदर्शन गरिरहेको नेपाल निरीह भएको र यसमा प्रशिक्षकको रणनीति पनि जिम्मेवार हो भन्ने खालका टिप्पणीहरू भए । जुन नाजायज पनि थिएनन् । तर उनी तत्काल केही बोलेनन् । तर जब बंगलादेशलाई बराबरीमा रोकेर नेपाल फाइनल प्रवेश गर्योत । खेलपछिको पत्रकार सम्मेलनमा उनी पूरै आक्रमक रुपमा प्रस्तुत भए ।

आफू दास नभएर र एक प्रशिक्षक भएको भन्दै उनले अब नेपाल नफर्कने घोषणा नै गरे । उनले मिडियादेखि आफ्नो आलोचना गर्ने सबैलाई सार्वजनिक मञ्चमै जवाफ दिए । दक्षिण एसियाको सबैभन्दा बलियो टिम भारतसँग महत्वपूर्ण फाइनल खेल्न बाँकी नै रहेको बेला उनको यो शैलीले नेपाली खेलाडीको मनोबलमा पनि फरक पार्न सक्छ ।

आफ्नो सामान्य आलोचना पनि पचाउन नसक्ने र मैले जे गरेको छु त्यो नै सर्वथा ठिक हो भन्ने अलमुताइरीको स्वभाव र जुनसुकै कुरामा पनि आलोचना नगरी नहुने आम नेपालीको बानीका कारण पनि अलमुताइरीको रीसको पारो ओरालो होइन‚ उकालो लागेको बंगलादेशसँगको खेलपछि देख्न पाइयो । आफूले गरेको काममा अनावश्यक लाञ्छना लाग्दा आक्रोशित हुनु स्वभाविक हो‚ तर उनले कम्तीमा फाइनलसम्म यो आक्रोशलाई थामथुम पार्न सक्नुपर्ने थियो ।

नेपालले उपाधि नजिते उनको आलोचना फेरि बढ्न सक्छ ।

साफको उपाधि नेपालले जित्ला/नजित्ला‚ तर नेपाली फुटबललाई पहिलो पटक साफको फाइनलमा पुर्या एको जस अलमुताईरीले सधैँ पाउनेछन् ।

अलमुताईरीको आवेगात्मक शैली नेपाली फुटबलमा लामो समय पक्कै मिस भने हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *