खण्डहर बन्दै मुक्त हलिया बस्ती, पाँच बर्षसम्म किन बसेनन् कोही यी घरमा ?

डोटी । मुक्त हलियाको पुनः स्थापनका लागि पाँच वर्ष पहिले निर्माण गरिएका घरमा अहिलेसम्म पनि नबस्दा ती घर भत्किन थालेका छन् । कतिपय घर बर्सातको समयमा पर्ने झरीका कारण जगदेखि नै भत्किई सकेका छन् भने कतिपय भत्किने अवस्थामा पुगेका छन् ।

पूर्वी चौकी गाउँपालिका-२ बगलेकमा मुक्त हलिया पुनः स्थापनाका लागि निर्माण गरिएको मुक्त हलियाको बस्ती मान्छे नबस्दा दिनहुँ खण्डहर हुनाका साथै घर भत्किँदै गएका हुन् । पुस्तौँदेखि मालिकको घरमा हलो जोतेका १८ परिवार बस्नका लागि सरकारद्वारा स्थापना गरिएको उक्त बस्तीमा निर्माण भएको पाँच वर्ष बितिसक्दा समेत कोही पनि नबस्दा बस्ती खण्डहरमा परिणत हुँदै जान थालेको छ ।

सरकारले निर्माण गरेको उक्त बस्तीमा पानी तथा बिजुली नहुँदा मुक्त हलिया बस्न नसकेको उक्त सामूहिक बस्तीमा घर भएकी मुक्त हलिया चन्नरी कोलीले बताइन् । हलिया बस्ती स्थापनाका लागि विद्यालय, खानेपानी, विद्युत् तथा न्यूनतम विकासका पूर्वाधार हुनुपर्ने कार्यविधिमा उल्लेख भए पनि बगलेकको बिच जङ्गलमा बस्ती बसाउँदा समस्या भएको मुक्त हलियाको गुनासो छ ।

हलियालाई पुनः हलिया नै बनाई राख्नका लागि बगलेकको जङ्गलमा बस्ती राख्न प्रपञ्च गरिएको हलिया अभियानकर्मी गोरखबहादुर सार्कीले बताए । कर्मचारी अभाव भएका कारण जिल्लाभरि मुक्त हलियाका मर्मत तथा निर्माण भएका सबै घरको अनुगमन गर्न नसकिएको घर अनुगमनको जिम्मा पाएका जिल्ला मालपोत कार्यालयका प्रमुख प्रेमबहादुर माझीले बताए ।

सरकारले गएको वर्ष नै हलिया पुनः स्थापनाको काम सक्ने बताए पनि प्रभाकारी कार्यान्वयन नहुँदा वास्तविक पुनः स्थापना हुनेमा मुक्त हलियामा शङ्का पैदा गरेको छ । मुक्त हलिया पुनः स्थापना बस्तीमा एक घर पनि मापदण्डअनुसार नबनेका स्थानीयको आरोप छ । बस्तीमा जस्तापाताले छाएका घर भुईंतले मात्र छन् भने उचाइ सात फिटभन्दा तल छ ।

बगलेकमा मापदण्डअनुसारका घर नबनेको जानकारी आफूलाई पनि प्राप्त भएको प्रमुख माझीले स्वीकार गरे । दुई कोठे भवन निर्माणको नक्सा भए पनि सानो आकारको टहरा जस्तो घर निर्माण गरेर मुक्त हलियाले अनुदान लिने गरेका छन् । नेपाल सरकारले जग्गा खरिदका लागि दुई लाख र घर निर्माणका लागि तीन लाख २५ हजार दिएको भए पनि घर निर्माण गर्दा करिब एक लाख १२ हजार मात्र खर्च गरेको मुक्त हलिया दीपक कोलीले आरोप लगाए ।

बस्तीमा निर्माण गरिएका घरको झ्याल ढोकासमेत नभएको मुक्त हलिया समाजका पूर्व अध्यक्ष डम्मर विकले बताए । विसं २०७४ असारमा नमुना हलिया बस्ती निर्माणका लागि अन्तिम तयारी गरेको अवस्थामा आर्थिक चलखेल भएको खबर बाहिरिएपछि जग्गा खरिदका लागि काटिएको ७८ लाखको चेक कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा जम्मा गरिएको थियो ।

हनुमान हर्टिकल्चर प्रालिका नाममा रहेको उक्त जमिन विसं २०७५ असारमा फेरि १८ जनाले व्यक्तिगत जग्गा खरिद गरेर पास भएको थियो । मुक्त हलिया बस्दै आएको ठाउँबाट एक घण्टाको दूरीमा रहेको उक्त जमिन सुविधा नरहेको जानकारी हुँदाहुँदै पनि किन जमिन खरिद गरियो यो भने रहस्यको विषय बनेको स्थानीयवासीको आरोप छ ।

पूर्वी चौकी-२ बगलेक र दिपायल सिलगढी नगरपालिका वडा नं ७ मा मुक्त हलियाका ३० परिवारको पुनः स्थापनाका लागि जग्गा खरिद तथा घर निर्माण गरिएको छ । प्रतिपरिवार रु पाँच लाख २५ हजारको लगानी भएको भए पनि हाल उनीहरू पुरानो घरमा बस्दै आएका बताइएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *