राजेश हमालको टीकाविहीन विजयादशमी

काठमाडौँ । नेपालभित्र मात्र होइन र विश्वभर रहेका नेपाली भाषीहरूमाझ दसैँको रौनक छ । दसैँ मिठो खाने राम्रो लगाउने मात्र होइन‚ छुटिएका परिवार भेटिने एक अवसर पनि बनेको छ । कोरोनालाई समेत बेवास्ता गर्दै अधिकांश नेपाली खुसी भएर पर्व रमाइरहेका छन् ।

तर अभिनेता राजेश हमाललाई भने दसैँ कहिल्यै दसैँजस्तो बन्न सकेन । पुरै देश पहेँलो जमरा र रातो टिकामा सजिएको बेला राजेशको निधार भने खाली हुनेछ । उनकी आमा रेणु हमालले दसैँको टिकाकै दिन संसार छाडेको कारण राजेशको निधार खाली हुने गरेको छ ।

पाकिस्तानी राजदूत रहेका बेला हमालका बुबाको पाकिस्तानमै हृदयाघात भएर निधन भएको थियो । प्रेम विवाह गरेकी रेणुलाई श्रीमानको अचानक भएको मृत्यु स्वीकार्न सहज भएन । उनी बिस्तारै चुरोटको लतमा परिन् र निरन्तर चुरोट खान थालिन् । तनावकै कारण उनी एकान्त मन पराउने बनिन् । छोरा राजेशले किन यस्तो गर्नुभएको ? भन्दै सोधखोज र खुसी रहन आग्रह त गरिरहन्थे । तर उनी र उनका दिदीहरूले पनि आमाको दुःखको कारण खोज्न र समाधान गर्नतर्फ शायद पर्याप्त समय दिन सकेनन्, अन्ततः अधिक चुरोट सेवन र एक्लोपनले रेणुको ज्यान लियो ।

विजया दशमी अत्यन्त शुभ दिन भएकाले बिहानमा श्राद्ध गरेर दिउँसो टिका ग्रहण गर्न मिल्ने भएपनि राजेश भने त्यसो गर्दैनन् । उनी दशमीमा आमाको श्राद्ध गर्छन्, उनलाई सम्झिन्छन्, आमासँगको मिठा यादहरू स्मरण गर्छन् । आमाप्रति श्रद्धाञ्जली व्यक्त गर्छन् । अनि भोलिपल्ट‚ अर्थात् एकादशीमा मात्रै उनले टिका जमरा लगाउँछन् ।

आमालाई डिप्रेसन रहेछ भनेर राजेशले आमाको मृत्युको धेरैपछि मात्र चाल पाए । उनी अँध्यारोमा रमाउँथिन् । एक्लै झोक्राएर बस्थिन् । केही कुरामा पनि खुसी मिल्दैन थियो । हरियो रङ्ग देख्दा उनी भिन्न व्यवहार गर्थिन् । यी सबै लक्षण देखिरहेका राजेश र परिवारका अन्य सदस्यलाई यो डिप्रेसन हो भन्ने थाहै भएन । उनीहरूले त आमा निराश भएको मात्रै देखिरहे र निराश नहुन आग्रह गरिरहे । आमाको निधनपछि लक्षण विचार गर्दा आमा डिप्रेसनसँग जुधेको राजेशले चाल पाए ।

राजेशले मानसिक रोगका कारण आमा गुमाए । अनि बल्ल उनलाई महसुस भयो‚ चलचित्रको पर्दामा मानिसक रोगीलाई देखाउने/प्रस्तुत गर्ने तरिका गलत भइरहेको छ भनेर । अधिकांश नेपाली चलचित्रमा मानसिक समस्यासँग जुधिरहेकाहरूलाई झुत्रे कपडा लगाएको, फोहरी भएको, बालबालिकाले ढुङ्गा हानेर लखेटिरहेको, कुकुरले समेत खेदाएको जस्ता दृश्यहरू देखाइन्छ । ‘यसले मानसिक रोगीमा पारेको असरबारे हामी बेखबर रहन्छौ । यो हामी मानसिक रोगीको चरित्र चलचित्र देखाउने प्रक्रियामा गलत गरिरहेका छौँ‚’ राजेश भन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *