कलाकारको दसैँ योजना

काठमाडौँ । दसैँको रौनक भित्रिसकेको छ । चलचित्रकर्मी समेत आफ्नै आफ्नै योजनामा अगि बढिरहेका छन् । काठमाडौँ बाहिर स्थायी घर रहेका केही कलाकार घर सम्मको यात्रामा लागेका छन् भने कोही  विदेश जाने तयारीमा छन् ।

निर्देशक तथा नायक जोडी दिवाकर भट्टराई र दीपिका प्रसाईँको यस पटक टिका ग्रहण गर्न मिल्दैन । वर्ष भरी कै घमाइलो समय यसै व्यतीत हुन दिनु त भएन । त्यसैले उनीहरू दुबई को यात्रामा निस्किने भएका छन् । हालसालै मात्रै रेस्टुरेन्ट खोलेका उनीहरू दुई घुम्न नगएको पनि लामै समय भयो । यसैले पनि उनीहरू करिब १० दिनको यात्रामा निस्किन लागेका हुन् । ‘टिका ग्रहण गर्न नमिले पनि यो घमाइलो मौसमको सदुपयोग त गर्नै पर्‍यो नि ।’ एकै स्वरमा उनीहरू भन्छन् ।

कलाकार सुरज गराचलाई बाल्यकालमा जस्तो रमाइलो दसैँ लाग्दैन । यो वर्ष उनी विराटनगर जाँदै छन् । बाल्यकाल उतै बिताएका उनी साथी भाइ भेट्न हरेक वर्ष विराटनगर पुग्ने गर्छन् । दुई वर्ष कोरोनाको कारण जान नपाएका उनको केही समय उतै बित्छ । यही योजनाका कारण हातमा आएका केही कामलाई उनले दसैँ पछिलाई सारेका छन् । दसैँ लगत्तै भने उनी कार्यक्रमका लागि दुबई जाने तयारीमा छन् । नयाँ कपडा, खेल कुद, रमाइलो उमेर बढे सँगै सकिएको उनको बुझाइ छ । ‘ठुला बडाको आशीर्वाद, भेटघाट, कुराकानी नै दसैँको रौनक हो ।’ उनी भन्छन् ।

कमेडी च्याम्पियनको सिजन २ मा टप ४ मा पर्न सफल हिक्मत महरा दसैँ मनाउन कैलाली घर पुगिसकेका छन् । दसैँमा के हुन्छ ? भन्ने प्रश्नको रमाइलो जवाफ दिँदै उनी भन्छन्, ‘हाम्रो तिर धान पाकेको हुन्छ । ध्यान जति सबै खेत मै हुन्छ ।’ बाल्यकालको जस्तो दसैँ त हुँदैन रे, उनको पनि । उमेर बढे सँगै जिम्मेवारीको कारण चाडबाड खल्लो हुँदै गएको छ । अष्टमीमा जनावर बली दिने गरिन्छ, महराको घर नजिक मेला पनि लाग्ने गर्छ । तर पिङ लगाउने चलन भने छैन रे त्यता । अब चाडबाड सकिए पछि मात्रै काठमाडौँ आउँछन् उनी ।

‘एक’ अभिनेता प्रमोद अग्रहरी परासी स्थित आफ्नो घर पुगेका छन् । २ दशक बढी भयो उनले नवरात्रीमा ९ दिन व्रत बस्न थालेको । यसै त शाकाहारी उनी यो समय दूध बाहेक केही पनि खाँदैनन् । दसैँ भन्ना साथ माहौल नै रमाइलो गरौँ भन्ने हुन्छ भन्ने उनलाई लाग्छ । छायाङ्कनको व्यस्त तालिकाबाट बाहिर निस्किएर घर पुगेका उनी केही दिन उतै रमाउने योजनामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *