छैनन् पिङ‚ सुनिदैन चचहुई…

काठमाडौँ । दसैँ भन्नासाथ सम्झनामा आउने धेरै कुरामध्ये पिङ पनि एक हो । घरमै लगाइने स-सानादेखि लिङ्गेपिङ, रोटेपिङ‚ जाँतेपिङमा सररर मच्चिएर चचहुई… भन्दै धरती छोड्न पाउनुको मज्जा दसैँसँग जोडिएको छ । लाइन लागेर पालो पर्खेर पिङ खेल्ने, अझ एक्लै वा दुईजना कसले टाढासम्म मच्चाउने भन्ने एकखाले प्रतिस्पर्धा गर्नुको रमाइलो बेग्लै हुने गर्छ ।

दसैँको टिका लगाएपछि कम्तीमा एकपटक ‘धरती छाड्नुपर्छ’ अर्थात् पिङ खेल्नुपर्छ भन्ने मान्यता रहेको हुन्छ ।

तर यो अवस्था हेर्दाहेर्दै बिरानो बन्न थालेको छ ।

शहरमा पिङ लगाउने खालका खुला ठाउँकै अभाव छ भने गाउँमा युवा नहुनु, मनोरञ्जनका अन्य साधन पनि भित्रनु, पिङका लागि चाहिने परिश्रम र मेहनत गर्न नचाहनुजस्ता धेरै कारणले गाउँमा पिङ हराउन थालेका छन् ।

‘उहिले पिङ लगाउने कुरा बडो खुसी र उमङ्गको कुरा हुन्थ्यो, हप्तौँअघि देखि बाबियो बटुल्ने‚ लठ्ठो बाट्नेजस्ता काम गरिन्थ्यो, तर अहिले त त्यस्तो केही हुँदैन, केटाकेटीलाई यसो प्लास्टिकका डोरीले घरमा एकैछिन खेल्ने पिङसम्म बनाइन्छ‚ अरु पिङ हाल्न छोडेको धेरै भयो’ तेह्रथुमका दुर्गा दाहालले सम्झिए ।

पछिल्लो पुस्ताले पिङ लगाउने र पिङमा रमाउने कुरालाई नै वास्ता गर्न छाडेको र टिभी, मोबाइलजस्ता कुरामा रमाउने क्रम बढेकाले पनि पिङ प्राथमिकतामा पर्न छाडेको उनको अनुभव छ । गाउँमा युवा नै छैनन् । दसैँमा आउने सीमित युवाहरू पनि दुई तीन दिनमा फर्किहाल्छन्‚ त्यसैले पनि पिङ हाल्ने कुरा अब कतैकतै मात्र सीमित भएको उनले बताए ।

अझ जाँतेपिङ त धेरै ठाउँमा हराई नै सकेको छ । रोटेपिङ पनि देख्न नपाएको वर्षौं भएको अनुभव धेरै जनासँग छ । रोटेपिङ काठै काठको हुने भएकाले काठ नपाउनु पनि समस्याकै रुपमा रहेको छ ।

पिङ हालेको ठाउँमा भेला हुने, पिङ खेल्ने‚ गफ गर्ने, रमाइलो गर्ने गरिन्छ । तर अहिले बिस्तारै हराउँदै गएको सामुहिक भावना र व्यक्तिवादी सोचका कारण पनि यस्तो अवस्था आएको हो भन्न सकिन्छ । पिङ खेल्ने ठाउँमा सबैजना भेला भएर खुसी व्यक्त गर्ने भएकाले पनि यसले सामुहिकताको भावना दर्शाउँछ । तर अहिले यो क्रम हराउन थालेसँगै सामुहिक भावना कम हुन थालेको अर्थमा पनि लिन सकिने समाजशास्त्रीहरू बताउँछन् ।

कस्ता हुन्छन् पिङ ?
लिङ्गेपिङ चार वा छवटा बाँस गाडेर बाबियोको डोरी‚ अर्थात् लठारो बाटेर बनाइन्छ । तराईमा भने जुटको पनि लठारो बनाउने गरिन्छ । वा नाइलनको डोरी पनि प्रयोग गर्न सकिन्छ । यस्तो पिङ एकजना वा दुईजनाले एकैपटक पनि खेल्न मिल्छ । यसमा उभिएर पर-परसम्म मच्चाएर मज्जा लिने गरिन्छ ।

यस्तै रोटेपिङमा कम्तीमा चारवटा काठका पिर्का हुन्छन् । जसमा बसेर एकैपटक चारभन्दा बढीले एकैसाथ खेल्न मिल्छ । यस्तो पिङ मच्चाउन मिल्दैन‚ त्यसैले दुई जनाले पिङ हल्लाउनु‚ अर्थात् घुमाउनुपर्छ । रोटेपिङ माथि जाने तल झर्ने‚ अर्थात् घुम्ने खालको हुन्छ ।

यस्तै, काठको मियोको माथिल्लो भागबाट काठ तेर्स्याएर दुवै भागमा एक–एक जना बस्न मिल्ने गरी बनाइने पिङ जाँतेपिङ हो । जाँतो जसरी घुम्ने भएकाले यसको नाम नै जाँतेपिङ रहेको हो । यो पिङ मच्चाउन खेल्नेबाहेक अर्को एकजना व्यक्ति चाहिन्छ । जाँतेपिङमा दुईजना बसेर खेल्न सकिन्छ ।

धनकुटा नगरपालिका ८ पोखरी डाँडामा लगाइएको रोटेपिङ । वडा कार्यालयको डेढ लाख रुपैया आर्थिक सहयोग र पोखरी गाउँका १५ घरपरिवारले पाँच दिन श्रमदान गरेर गत साउनमा यो रोटेपिङ लगाएका हुन् । आठ पहरिया समुदायको मुख्य पर्वमा यहाँ मेला लाग्ने गर्छ । मेला हेर्न आउनेलाई रोटेपिङ खेलाएर पठाउने चलन छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *