टुँडिखेलमा फूलपाती बढाइँ सम्पन्न (तस्बिरहरू)

काठमाडौँ । नेपाली सेनाद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोह सम्पन्न भएको छ । समारोहमा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुका साथै राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ गरियो ।

त्यस अवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र सैनिक ब्यान्डबाट मालश्री र दुर्गा स्त्रोत्रका धुन बजाइएको थियो ।

कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण विगत वर्षदेखि नै फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सानो र छरितो कार्यक्रम गरिँदै आएको छ ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी‚ उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, सभामुुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समारोहमा सहभागी भएका थिए ।

समारोहमा मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थित थियो ।

बढाइँ समारोहमा आएका विशिष्ठ पाहुुनालाई बलाध्यक्षरथी बालकृष्ण कार्कीले स्वागत अभिवादन गरेका थिए । टुँडिखेल वरपर सर्वसाधारणले चाखपूर्वक बढाइँ हेरिरहेका देखिन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *