मोतिपुर घटनामा ओली सरकार जिम्मेवार : सत्तारुढ विद्यार्थी संगठन

काठमाडौँ । सत्तारुढ दलका विद्यार्थी संगठनहरूले मोतिपुर घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) निकट विद्यार्थी संगठनहरुले मोतिपुर घटना केपी शर्मा ओली नेतृत्वको सरकारको गलत निर्णयको परिणाम भएको भन्दै त्यही निर्णयको कारणले आज मोतिपुर रणमैदान भएको आरोपसमेत लगाएका छन् ।

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा घरटहरा बनाई बसोबास गर्दै आएकाहरू र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको थियो ।

‘औद्योगिक क्षेत्र स्थापना गर्ने नाममा १३३ बिघा जमिन अधिकरण नगरी गत फागुन २१ गते तत्कालीन सरकारले राज्य शक्तिको चरम दुरुपयोग गरी मोतिपुर क्षेत्रमा बसोबास गरिरहेका सर्वसाधारण जनतालाई सत्ता र शक्तिको आडमा लखेट्ने दुस्साहसको परिणामस्वरुप आज मोतिपुर क्षेत्र रणमैदान भएको छ,’ विद्यार्थी संगठनहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अनाहकमा जनताको ज्यान गएको छ । यो घटनाको मुख्य कारण तत्कालीन प्रतिगामी सरकार र त्यसका अर्थमन्त्री भएको हाम्रो निष्कर्ष छ ।’

अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली र जसपा निकटको समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गरी मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *