पुरै देशबाट बाहिरियो मनसुन, यस्तो छ आजको पूर्वानुमान

काठमाडाैँ । यस वर्षको मनसुन (वर्षा गराउने मौसम प्रणाली) पुरै नेपालबाट बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागले सोमबार साँझ विशेष बुलेटिन जारी गरी देशका सबै क्षेत्रबाट मनसुन हटेको जानकारी दिएको हो ।

यसअघि गत शुक्रबार (असोज २२) नेपालका सुदूरपश्चिम, कर्णालीका पुरै क्षेत्र र लुम्बिनी प्रदेशको पश्चिमी भेगबाट मात्र मनसुन हटेको थियो भने बाँकी प्रदेशमा मनसुन कायमै थियो। ‘असोज २२ गते शुक्रबार (८ अक्टोबर) नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट बाहिरिएको यस वर्षको मनसुन आज २०७८/६/२५ गते (११ अक्टोबर २०२१) बाट देशको समग्र भूभागबाट बाहिरिएको छ’, जल तथा मौसम विज्ञान विभागद्वारा जारी बुलेटिनमा भनिएको छ।

मौसमविद्का अनुसार नेपालबाट मनसुन बाहिरिनुपर्ने औसत मिति अक्टोबर २ तारिख नै भए पनि यस वर्ष ९ दिन ढिला मनसुन बिदा भएको हो । ​योसँगै वर्षा यामको औपचारिक अन्त्य भएको छ । मौसमविद्का अनुसार मनसुन बाहिरिनुको अर्थ अब पानी नै पर्दैन भन्ने होइन । वर्षा याममा जस्तो ठूलो तथा लगातारको वर्षा भने अब हुँदैन । अन्य विभिन्न सिस्टमले सानातिना, क्षणिक वर्षाको सम्भावना भने रहन्छ । ​

अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाकी भू भागमा आंशिक बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन ।

यस्तो छ तीन दिनको पूर्वानुमान

मंगलबार
दिउँसो: देशभर सामान्यतया सफादेखि आंशिक बदली रही पहाडी भू-भागको एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्यतया सफादेखि आंशिक बदली रही पहाडी भू-भागका वा दुई स्थानमा मेघगर्जन/ चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

बुधबार
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रही पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

विहीबार
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रही प्रदेश १ र बाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र बाग्मती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/ चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *