धोबी र कुर्मीको न्यायका लागि माइतीघरमा धर्ना (तस्बिरहरू)

काठमाडौँ । बाँकेमा घरेलु हिंसाबाट मारिएकी नसुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा धर्ना जारी छ । पीडितको न्यायका लागि भन्दै नेपालगन्जदेखि २० दिनको यात्रा गरेर काठमाडौँ आइपुगेका १५ जना पीडित परिवारका सदस्यहरूले माइतीघरमा धर्ना दिएका हुन् ।

नन्कुन्नी र निर्मलाको परिवारकै मिलेमतोमा हत्या गरिएको भएपनि स्थानीय प्रहरी प्रशासनले मुद्दा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको उनीहरूको आरोप छ । पीडित परिवारले दोषीलाई कारबाहीको माग गरी असोज १ गतेदेखि नेपालगन्जबाट पैदल यात्रा गरेका थिए ।

पीडित परिवारले दोषीलाई कारबाही गर्न तथा दोषी उपर कारबाही प्रक्रिया अगाडी नबढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसूदन न्यौपानेलाई विभागीय कारबाही गर्न माग गर्दै काठमाडौँस्थित माइतीघर मण्डलामा धर्ना सुरु गरेका हुन् । काठमाडौँ पुगेको ५ दिन बितिसक्दा समेत आफूहरूको माग सुनुवाइ हुन नसकेको धर्नामा बसेकी स्थानीय आप्दा धोबीले बताइन् ।

पीडित कुर्मी र धोबीको हत्यापछि बाँकेमा न्याय नमिलेको भन्दै असोज १ गते पीडित परिवारका सदस्यहरू काठमाडौँका लागि पैदल हिँडेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *