अन्तर्वार्ता

‘मन्त्री भएपछि दुखी थिएँ, राजीनामापछि आनन्द भयो’

नैतिकताभन्दा ठूलो पद होइन भनेर राजीनामा दिएँ

काठमाडौँ । गजेन्द्रबहादुर हमाल, जो दुई दिनका लागि मन्त्री बने । शुक्रबार उद्योगमन्त्रीको शपथ ग्रहण गरेका हमालले दुई दिनपछि आइतबार राजीनामा दिए ।

हमालको नाम मन्त्री नबनीकनै प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटामा मन्त्री बन्दै गरेका व्यक्तिका रूपमा जोडिएको थियो । उनी नेपाली कांग्रेसका नेता त थिए, तर सांसद नभएका उनी प्रधान न्यायाधीश जबरासँगको पारिवारिक साइनोबाट मन्त्री बने । संविधानतः उनी ६ महिना मन्त्री बन्ने थिए ।

मन्त्री बन्नुभन्दा अघिदेखि नै चर्चा र विवादमा तानिएका हमालले नियुक्त भएपछि जम्मा २ दिन पदमा रहेर राजीनामा गरे । राजीनामा गरेर बालुवाटारबाट फर्केका हमालसँग मकालुखबरकर्मी धनबल राईले कुराकानी गरेका छन् ।

मन्त्री बनेको दुई दिनमै राजीनामा दिनुपर्‍याे होइन त ?
हो, दिनुपर्‍याे । मैले दिइसकेँ । तर, यसमा कुनै पश्चाताप छैन । मलाई कसैले ‘तैँले राजीनामा गर्नुपर्छ’ भनेर पनि भनेको होइन । मैले स्वतःस्फूर्त रूपमा राजीनामा दिएको हुँ ।

मन्त्री बन्नुभन्दा पहिलेदेखि नै तपाईंको चर्चा र विरोध भइसकेको थियो, मन्त्रीको शपथ लिनेबेलामा तपाईंलाई विवादित बनिन्छ भन्ने लागेको थिएन ?
म संविधानतः मन्त्री बनेको थिएँ । मलाई किन त्यस्तो लाग्नु तपाईं नै भन्नुस् न । हो म कुनै पनि संघीय संसद्को सदस्य छैन अहिले । तर, संविधानको व्यवस्थाबमोजिम नै म मन्त्री बनेको थिएँ । म लामो समयदेखि कांग्रेसको राजनीति गर्दै आएको हुँ । तर अनावश्यक विवाद बढाइयो । यसपछि नैतिकताभन्दा पद ठूलो होइन भनेर राजीनामा दिएँ ।

यो दुई दिनमा तपाईंले विभिन्न कांग्रेस नेताहरूलाई भेट्नुभयो, उहाँहरूले पनि राजीनामा दिनु भनेर सुझाउनुभएको हो ?
होइन होइन, मलाई कसैले राजीनामा दिनु भनेर भनेकै थिएन । मैले आफैँले स्वतःस्फूर्त रूपमा राजीनामा दिएको हुँ । एउटा कुरा भन्छु तपाईंलाई, म पनि ५०/५५ वर्षयता राजनीतिमा रहेको मान्छे हुँ । कसैले ‘राजीनामा दे’ भन्दा राजीनामा दिने र कसैले ‘मन्त्री बन्’ भन्दा मन्त्री बनिहाल्ने मान्छे म पनि होइन । एउटा राजनीतिक चेत त छ । आफ्नो विचार, अडान र सिद्धान्त पनि छ ।

तपाईं मन्त्री बनिसकेपछि खासगरी सञ्चारमाध्यम जे–जे कुराहरू आए, त्यसका विषयमा प्रधान मन्त्रीसँग के कुराकानी भयो ?
उहाँसँग एकरदुई पटक कुराकानी भयो । उहाँ पनि बाहिर आएको कुराबाट दुखी हुनुहुन्थ्यो । यद्यपि उहाँले मलाई राजीनामा दिनु भनेर कुनै खालको दबाब दिनुभएन ।

त्यसो भए तपाईंले कसैले नभनीकन राजीनामा दिनुभयो ?
हो, मैले कसैले नभनीकन राजीनामा दिएको हुँ । मलाई पनि लाग्यो कि नैतिकताभन्दा ठूलो पद होइन भनेर । त्यसैले राजीनामा दिएँ ।

तपाईं २ दिन मन्त्री बन्नुभयो, यो दुई दिन कस्तो रह्यो ?
सबैले देखिएको विषय हो । अझै तपाईंहरूले नै देख्नुभएको विषय हो । यस्तै रह्यो । सञ्चारमाध्यमहरूले बढी हल्ला गरे । नभएका कुरा गरे । उनीहरूले आफ्नै गरिमासमेत घटाए । जे जे भयो, खास हुन नहुने कुराहरू भए ।

प्रधान न्यायाधीशसँग जोडिएर जसरी तपाईंको नाम आयो, यसबारे भन्नु के छ तपाईंको ?
भन्नु केही छैन । नभएको कुराको प्रचार भयो । अब प्रधान न्यायाधीशले त मन्त्री बनाउने होइन नि । प्रधान न्यायाधीश भनेको त मन्त्री छान्ने विषयभन्दा धेरै टाढाका मान्छे हुन् । यसमा नचाहिँदो हल्ला भयो । यसबाट दुखी छु ।

अब आउँदो चुनावमा उठेर जितेर मन्त्री बन्नुहुन्छ होला, पार्टीले बनाउला नि ?
अब यो त कसरी भन्नु ? यसबीचमा धेरै कुराहरू छन् । भन्दै गरौँला, गर्दै जाऔँला । पूरै जीवन राजनीतिमा बिताएको मान्छे हुँ म पनि । एउटा कुरा चाहिँ भन्छु तपाईंलाई— राजीनामा दिएपछि आनन्द भयो । मन्त्री हुँदा दुःखी थिएँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *