केएमसीमा १४ दिनको नवजात शिशुको ‘जटिल शल्यक्रिया’

काठमाडाैँ । सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा १४ दिनको नवजात शिशुको ‘दुर्लभ’ शल्यक्रिया गरिएको छ । नवजात शिशुमा देखिने जटिल एवम् दुर्लभ मानिने ‘कनजेनिटल डायफ्रामाटिक हर्निया’को शल्यक्रिया गरिएको सो अस्पतालले दाबी गरेको हो ।

अस्पतालका अनुसार सिनामंगल गैरीगाउँका सरस्वती तामाङबाट जन्मिएको बच्चामा जन्मजात हर्निया देखिएको थियो । चिकित्सकहरूका अनुसार बच्चाको पेट र छातीको बीचमा हुने ‘डायफ्राम’ मांसपेशीमा प्वाल थियो । उनीहरूका अनुसार पेट र छातीलाई छुट्याउने पत्र (डायफ्राम) मा प्वाल परेका कारण पेटभित्र रहनुपर्ने कलेजो, आन्द्रा, आमाशय र फियो छातीमा पुगेको थियो ।

जसका कारण बच्चालाई श्वास फेर्न गाह्रो भएको थियो। सामान्यतया ३७ हप्तामा बच्चा जन्मिने भए पनि सरस्वतीले ३५ हप्तामै छोरालाई जन्म दिएकी थिइन् । थापाथलीको प्रसूति अस्पतालमा नर्मल डेलिभरी भएको सो बच्चालाई रेफर गरेर केएमसी पठाइएको थियो । केएमसीका बाल तथा नवजात शिशु सर्जन डा. आशिषलाल श्रेष्ठ नेतृत्वको चिकित्सकहरूको टोलीले बच्चाको सफलतापूर्वक शल्यक्रिया गरेको थियो ।

‘डायफ्राम प्वाल परेर छातीमा पुगेको कलेजो, आन्द्रा, आमाशय र फियोलाई शल्यक्रिया गरी पेटमा ल्याएर प्वाल टालेका छौँ,’ डा. श्रेष्ठले भने, ‘यो निकै जटिल र दुर्लभ समस्या हो । अप्रेसन सफल भयो, अहिले बच्चाको स्वास्थ्य अवस्था राम्रो छ ।’ यस्तो समस्या हुँदा विकसित हुँदै गएको फोक्सोको विकास क्रमलाई रोक्ने र श्वास फेर्न गाह्रो भएर बच्चाको ज्यान जाने जोखिम हुने उनले बताए। तर, अप्रेसन सफल भएर जोखिम टरेको उनले बताए ।

अप्रेसनपछि नवजात शिशु विशेषज्ञ मानन्धरको प्रत्यक्ष निगरानीमा बच्चालाई दुई हप्ता अस्पतालमा राखिएको थियो । उनको स्वास्थ्य अवस्था सामान्य बनेपछि शुक्रबार डिस्चार्ज गरिएको छ । सफल स्वास्थ्य व्यवसायी मानिने डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि अहिले दक्ष डाक्टर र अत्याधुनिक उपकरणको व्यवस्था मिलाएर उपचार सेवालाई विस्तार गर्दै लगिएको छ ।

केही साता अघि मात्र केएमसीले नेपालकै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधासहितको नवजात शिशु सघन उपचार कक्ष र वाल रोग सघन उपचार कक्ष सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *