प्रचण्डपथ छाड्दा पार्टीमा टुटफुट आयो : अर्थमन्त्री शर्मा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्माले प्रचण्डपथ छाडेका कारण पार्टीमा टुटफुट आएको टिप्पणी गरेका छन् । पार्टीको सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क समन्वय समितिले शनिवार गरेको कार्यक्रममा उनले प्रचण्डपथले विचार र सङ्गठनलाई केन्द्रीकरण गरेको तर त्यसलाई छाड्दा टुटफुट आएको बताएका हुन् ।

‘प्रचण्डपथले वैचारिक केन्द्रीकरण गरेको थियो, आन्दोलनको भावनालाई केन्द्रीकरण गरेको थियो तर त्यसलाई छाड्दा सबथोक विकेन्द्रीकरणतर्फ गयो ।’ उनले भने ‘अब प्रचण्डपथ र एक्काइसौँ शताब्दीको जनवादबाट शिक्षा लिएर समाजवादी आन्दोलनको नेतृत्व गर्ने पार्टी बनाउनुपर्‍यो ।’

उनले पार्टीलाई जन नियन्त्रित र जन निर्देशित पार्टीको रूपमा विकास गर्नुपर्नेमा जोड दिए । ‘जनताको आदेशमा चल्ने पार्टी चाहियो । नेताले गरेका गल्तीमा जनताले औँला ठड्याउन पाउनुपर्‍यो । हामीले गरेका गल्ती उपर जनताले भण्डाफोर गर्ने मौका पाउनुपर्‍यो । यस्तो खालको पार्टी बनाउनुपर्‍योअब । ’ माओवादी केन्द्रको सङ्गठन विभाग प्रमुख समेत रहेकाा नेता शर्माले भने ‘ अबको पार्टी विधि र पद्धतिमा आधारित भएर चल्छ । सफ्टवेयरको जमाना छ । प्रविधिको प्रयोग गरेर नेता कार्यकर्ताहरूको मूल्याङ्कन गरिन्छ ।’

सङ्गठन विभागको प्रस्तावमा स्थायी समितिले ‘देश बनाऔँ टोलबाट, पार्टी बनाऔँ सेलबाट’ भन्ने नारा पारित गरेको भन्दै उनले यसलाई देशभर अभियानको रूपमा लागू गर्नुपर्नेमा जोड दिए । पार्टीको पक्षमा ३० लाख सङ्गठित जनशक्ति उत्पादन गर्ने लक्षका साथ त्यसको लागि सङ्गठनात्मक फर्मुला समेत तयार गरेको जानकारी दिए ।

अर्थमन्त्री समेत रहेका नेता शर्माले अबदेखि पार्टी र जनसङ्गठनहरूका हरेक कमिटीहरू आर्थिक उत्पादन, रोजगारी र सामाजिक सांस्कृतिक रूपान्तरणको अभियानमा अनिवार्य रूपले जोडिनुपर्ने बताए । हरेक कमिटी र हरेक व्यक्ति आर्थिक रूपले आत्मनिर्भर भएपछि मात्र समाजवाद आउने भएकोले पार्टीको नेतृत्वमा समाजवादी आन्दोलन अघि बढाउन आग्रह गरे ।

अर्थमन्त्री शर्माले अब नेपालमा बन्द भएका उद्योगहरू चलाउने, नयाँ उद्योग धन्दा खोलेर रोजगारी सृजना गर्ने र राष्ट्रिय पुँजी निर्माण गर्ने गरी सरकारले नीति बनाएको जानकारी दिए ।

सरकारले शहीद परिवारलाई मासिक वृत्ति, दीर्घ रोगीहरूलाई मासिक उपचार खर्च, राजनैतिक आन्दोलनका घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था, महिला पहिला कार्यक्रम, युवा रोजगारी, दलित आवास निर्माण, पढ्दै कमाउँदै, डिजिटल शिक्षालगायतका लोक कल्याणकारी कार्यक्रम ल्याएको र तिनको कार्यान्वयन समेत अघि बढिसकेको मन्त्री शर्माले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *