नयाँ मन्त्रीहरूलाई नजिकबाट चिनौँ
काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवाले झण्डै ३ महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । असार २९ गते चार मन्त्रीसहित प्रधान मन्त्रीको शपथ ग्रहण गरेका देउवाले त्यसपछि स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरे । फेरि परराष्ट्र मन्त्रीमा डा नारायण खड्कालाई नियुक्त गरेका देउवाले शुक्रबार बाँकी मन्त्रीहरू नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । पछिल्लो पटक विस्तार गरिएको मन्त्रिपरिषद्मा मन्त्री बनेकाहरूको संक्षिप्त परिचय यस्तो छ–
विरोध खतिवडा – स्वास्थ्य तथा जनसंख्यामन्त्री
सांसद विरोध खतिवडा संसदीय व्यवस्थाको लामो अनुभव भएका नेता हुन् । प्रजातन्त्र स्थापनापछिको पहिलो संसद २०४८ र त्यसपछिका संसदीय निर्वाचन २०५१ र २०५६ सालमा लगातार चुनाव जितेका खतिवडाको संसदमा त्यसबेलाको सक्रियताको अहिले पनि प्रशंसा हुने गर्दछ ।
तर, २०६४ र २०७० मा भने उनले टिकट पाएनन् । २०७४ मा पुनः निर्वाचित भएर आएपछि भने खतिवडाले मन्त्री बन्ने अवसर पाए । २०३५ सालमा अनेरास्ववियू काठमाडौँ जिल्ला अध्यक्ष हुँदै राजनीतिमा लागेका उनी पञ्चायतविरुद्धको आन्दोलन र राजतन्त्रविरुद्धको आन्दोलनका क्रममा पटक–पटक जेल समेत परेका थिए ।
कानूनमा स्नातक गरेका उनको चर्चा कानूनमन्त्री बन्ने भन्नेमा पनि थियो । फेरि उनी मन्त्री बन्ने लगभग तय भएको थियो । तर, अन्तिममा उनी स्वास्थ्य तथा जनसंख्यामन्त्रालयको जिम्मेवारी पाएका छन् । यसको पनि रोचक कहानी छ । नेकपा एकीकृत समाजवादी मन्त्रिपरिषद्मा भवानी खापुङलाई पनि नछुटाउने मनस्थितिमा थियो । तर चार मन्त्रालय मात्र पाएपछि समेट्न गाह्रो भएको भन्दै उनलाई राज्य मन्त्री बन्न अफर गरियो । खापुङले सुरूमा प्रस्ताव सिधै अस्वीकार गरे । पछि सबै जनाले मनाउने कोसिस गरेपछि उनले राज्यमन्त्री बन्ने भए विरोध कामरेडको मात्र बन्छु भने । त्यसबेलासम्म स्वास्थ्यमन्त्री रामकुमारी झाँक्री बन्ने निश्चितजस्तै थियो । खापुङको त्यो अडानपछि खतिवडालाई स्वास्थ्य मन्त्रालयमा ल्याएर खापुङलाई पनि राज्यमन्त्री बनाउने निर्णय नेकपा एसले गरेको हो ।
राजेन्द्र श्रेष्ठ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री
राजेन्द्र श्रेष्ठ दोस्रोपटक मन्त्री बनेका हुन् । उनी २०५५ सालमा आवास तथा भौतिक योजनामन्त्री बनेका थिए । वामपन्थी पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका राजेन्द्र श्रेष्ठ चार दशकदेखि राजनीतिमा छन् ।
२०३४ सालमा नेकपा चौम, २०३९ मा नेकपा माले हुँदै २०४९ मा नेकपा एमालेको केन्द्रीय सदस्य भएका उनी २०६९ सालसम्म एमालेमा सक्रिय थिए । त्यसपछि उनी संघीय समाजवादी हुँदै हाल जनता समाजवादी पार्टी (जसपा)मा छन् । मध्यावधि निर्वाचन २०५१ मा र २०५६ मा सांसद बनेका उनी २०७४ मा समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेका थिए ।
डा. मिनेन्द्र रिजाल – रक्षा मन्त्री
नेपाली राजनीतिक क्षेत्रमा विद्वान नेताका रुपमा चिनिन्छ डा. मिनेन्द्र रिजाल । अमेरिकाको न्यूयोर्क विश्वविद्यालयबाट व्यवस्थापनमा विद्यावारिधी गरेका उनले अमेरिकाको न्यूयोर्क विश्वविद्यालयमा तीन वर्ष पढाएका थिए । अहिले पनि उनी काठमाडौँका विभिन्न क्याम्पसमा अध्यापन गराउँछन् । उनले काठमाडौँको बानेश्वरमा एपेक्स कलेजसमेत सञ्चालन गरिरहेका छन् ।
२०२६ सालमा धरानको जनता हाईस्कूलको विद्यार्थी युनियनको निर्वाचनबाट विद्यार्थी राजनीति सुरु गरेका रिजाल यसअघि माधवकुमार नेपालको मन्त्रिमण्डलमा संस्कृति मन्त्री र सुशील कोइरालाको मन्त्रीपरिषद्मा सूचना तथा सञ्चारमन्त्री भइसकेका छन् ।
गत चुनावमा उनी मोरङ निर्वाच्न क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन् ।
उमाकान्त चौधरी – खानेपानी मन्त्री
२०३६ सालबाट राजनीति थालेका उमाकान्त चौधरी नेपालको संसदीय अभ्यासमा नयाँ अनुहार होइनन् । २०५९ सालमा कृषि तथा सहकारी सहायकमन्त्री भएका उनी २०६४ मा स्वास्थ्य तथा जनसंख्या मन्त्री बने ।
२०५६ सालमा बारा १ बाट निर्वाचित चौधरी २०६४ मा बारा ५ बाट, २०७४ मा बारा १ बाट निर्वाचित भएका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट वनस्पतिशास्त्रमा स्नातकोत्तर गरेका चौधरीको विशेष रुचि शिक्षा तथा विज्ञानसम्बन्धी विषयमा छ । सरकारले यसपटक उनलाई खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी दिएको छ । भलै उनी स्वास्थ्यमन्त्री बन्ने चर्चा पनि भएको थियो । चौधरी लामो समयदेखि नेता कृष्णप्रसाद सिटौलाको समूहमा रहँदै आएका छन् ।
रेणु यादव – भौतिक पूर्वाधार तथा यातायातमन्त्री
भारतमा जन्मिएर विवाहपछि नेपाल आएकी रेणु यादव २०४७ सालदेखि नेपाली कांग्रेसमा आवद्ध भएकी थिइन् । उनी राप्रपा र मधेशी जनअधिकार फोरम हुँदै हाल जनता समाजवादी पार्टीमा छिन् ।
२०५६ सालमा, २०६४ र २०७४ मा उनी सप्तरीबाटै निर्वाचित भएकी थिइन् । उनी यसअघि विज्ञान तथा वातावरण राज्यमन्त्री, शिक्षा मन्त्री, महिला बालबालिका तथा समाजकल्याण मन्त्री भइसकेकी हुन् ।
प्रेमबहादुर आले – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
प्रेमबहादुर आले गत निर्वाचनमा डोटी १ बाट निर्वाचित सांसद हुन् । सांसद भएको पहिलो पटकमा नै उनले दुई पटक मन्त्री बन्ने अवसर पाए ।
तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री बनेका उनी ओली सरकार गएर शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि मन्त्री भएका छन् ।
उनी ओलीनिकट भएपनि पछिल्लोपटक एमाले विभाजन हुँदा उनी नेकपा एकीकृत समाजवादीतर्फ लागे । उनी धनी मन्त्रीका रुपमा चिनिन्छन् । यतिमात्र होइन‚ उनी बेलाबेला विवादमा पनि परिरहन्छन् । पहिलोपटक मन्त्री भएका बखत आले पटकपटक विवादमा तानिएका थिए ।
दिलेन्द्रप्रसाद बडु – कानून न्याय तथा संसदीय मामिला मन्त्री
दिलेन्द्रप्रसाद बडु २०४८ सालदेखि संसद्मा रहेका नेता हुन् । २०४८-२०५१ सम्म आवास तथा भौतिक योजना सहायक मन्त्री भएका उनी २०५६ मा शिक्षा तथा खेलकुद राज्यमन्त्री भए ।
२०६३ मा स्वर्गीय गिरिजाप्रसाद कोइराला नेतृत्वको सर्वदलीय सरकारमा बडु सञ्चारमन्त्री भए ।
भूगोलमा एमए गरेका उनी संसदीय राजनीतिक अभ्यस्त र परिपक्व विधायकका रुपमा चिनिन्छन् । उनी गत निर्वाचनबाट समानुपातिकतर्फका सांसद भएका हुन् । उनी कांग्रेसमा रामचन्द्र पौडेल पक्षका नेता हुन् ।
देवेन्द्र पौडेल – शिक्षा विज्ञान तथा प्रविधिमन्त्री
नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल पहिलो पटक मन्त्री भएका छन् ।
२०६८ सालमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईका प्रमुख राजनीतिक सल्लाहकार थिए । अखिल क्रान्तिकारीबाट राजनीति सुरु गरेका पौडेल तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धमा १० वर्ष भूमिगत भए । भट्टराईले माओवादी छाडेर नयाँ शक्ति बनाउँदा उनी पनि गए । तर केही समयपछि उनी फेरि माओवादी केन्द्रमै फर्किए ।
शिक्षामन्त्री बनेका पौडेलले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । माओवादीले सशस्त्र युद्धका क्रममा हालको शिक्षालाई बुर्जुवा शिक्षा भनेको थियो । माओवादीले भनेजस्तो व्यवहारिक र जनवादी शिक्षा नीति अवलम्बन गर्ने दायित्व र जिम्मेवारी अब पौडेलले पाएका छन् ।
महेन्द्रराय यादव – कृषि तथा पशुपन्छी विकासमन्त्री
महेन्द्रराय यादव २०३७ सालदेखि नेपाली राजनीतिमा सक्रिय छन् । वामपन्थी दलबाट राजनीतिक यात्रा सुरु गरेका उनी अहिले जसपामा छन् ।
२०४८ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी २०५१, २०५६, २०६४ र २०७४ मा पनि निर्वाचित भएर संसदमा निरन्तर रहँदै आएका छन् ।
२०६२/०६३ को जनआन्दोलनपछि एमाले छाडेर मधेश केन्द्रित आन्दोलनमा लागेका उनी तीनपटक मन्त्री र एक पटक राज्यमन्त्री भइसकेका छन् । २०५४ सालमा राज्यमन्त्री, २०६४ मा सिँचाइमन्त्री, ०६७ मा उद्योगमन्त्री र पछि सामान्य प्रशासन मन्त्री भएका थिए ।
उमा रेग्मी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री
आफूलाई सामाजिक सद्भाव र एकताको पक्षधरका रुपमा परिचित गराउन रुचाउने सांसद हुन् उमा रेग्मी । उनी एक बौद्धिक नेतृका रुपमा पनि चिनिन्छिन् । नेपाल महिला संघ, दलित महिला संघ ‘फेडो’को नेतृत्व सम्हालिरहेकी रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भएकी छन् ।
२०२८ सालमा शारदानगर हाइस्कुल चितवनको नेविसंघको इकाइ उपसभापतिबाट विद्यार्थी राजनीतिमा संल्ग्न भएकी उनी २०३६ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष हुँदै नेपाली राजनीतिमा स्थापित भइन् । २०४८ सालमा पर्वत २ बाट प्रत्यक्ष निर्वाचित उनी पुनस्थापित प्रतिनिधिसभा सदस्य, २०६४ मा समानुपातिक सांसद २०७४ को चुनावपछि पनि समानुपातिक सांसद बनिन् ।
शशी श्रेष्ठ – भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री
विद्यार्थी संगठनबाट राजनीतिक जीवन सुरु गरेकी शशी श्रेष्ठ, छोरा र छोरीलाई पैत्तृक सम्पत्तिमा समान हक स्थापनाको आन्दोलनको नेतृत्व गर्दै राजनीतिमा स्थापित भएकी नेतृ हुन् ।
उनी यसअघि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भएकी थिइन् । मन्त्री बन्नुअघि श्रेष्ठले संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको जिम्मेवारीमा थिइन् ।
रामकुमारी झाँक्री – सहरी विकासमन्त्री
वामपन्थी राजनीतिमा सक्रिय युवा नेतृ हुन्– रामकुमारी झाँक्री । खासगरी नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी बन्दा माधव नेपाललाई निरन्तर दिएको साथले उनलाई परिचित गराएको छ ।
२०४७ सालमा पृथ्वी मावि गुल्मीबाट अनेरास्ववियूको प्रारम्भिक कमिटीमा आवद्ध हुँदै राजनीतिक यात्रा सुरु गरेकी उनले १९औँ सम्मेलनमा अनेरास्ववियूको अध्यक्ष भएर विद्यार्थी आन्दोलनको नेतृत्व गरिन् ।
संसद्मा भने उनको यात्रा २०७४ सालबाट सुरु भएको हो । सांसद भएको पहिलो पटक नै उनले मन्त्री बन्ने अवसर पाएकी छन् ।
रामसहायप्रसाद यादव – वन तथा वातावरणमन्त्री
१७ वर्षको शिक्षण पेसालाई छाडेर राजनीतिमा आएका रामसहायप्रसाद यादव पहिलो पटक मन्त्री भएका छन् । २०६४ मा संविधानसभा सदस्यमा निर्वाचित उनी २०७४ मा बारा २ बाट निर्वाचित भए ।
उनले गणित विषयमा बिएस्सी र बिएड गरेका छन् ।
कृष्णकुमार श्रेष्ठ ‘किसान’ – श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री
गत निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेर चर्चामा आएका कृष्णकुमार श्रेष्ठ ‘किसान’ कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वकै सरकारमा मन्त्री बन्न पुगेका छन् ।
तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका पौडेललाई वाम गठबन्धनका एमाले उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसानले पराजित गरे । गत चुनावमा किसानले पौडेललाई ६ हजार ४१४ मतले पराजित गरेका थिए ।
व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा सक्रिय भएका श्रेष्ठको राजनीतिक आवद्धताको तीन दशकभन्दा बढी छ । उनी २०३८ सालमा अनेरास्ववियूमा आवद्ध भई राजनीतिमा संलग्न भएका थिए ।
महेश्वरजंग गहतराज – युवा तथा खेलकुदमन्त्री
महेश्वर गहतराज तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र विद्रोहबाट आएका नेता हुन् ।
माओवादी शन्ति प्रक्रियामा आएपछि २०६४ को चुनावमा पार्टीमै रहेर भूमिका निर्वाह गरेका उनी २०७० को संविधानसभा निर्वाचनमा बाँके १ बाट पराजित भए । २०७४ मा भने उनी त्यही क्षेत्रबाट विजयी भएका थिए । र सांसद भएको पहिलो पटक नै उनले मन्त्री बन्ने अवसर पाएका छन् ।
१ फागुन २०५२ मा सशस्त्र विद्रोह थालेको दिन माओवादीले चार स्थानमा चौकी आक्रमण गरेको थियो, जसमध्ये रुकुमको राडीज्युला प्रहरी चौकीमा गरेको आक्रमणको नेतृत्व गहतराजले गरेका थिए ।
गजेन्द्र हमाल – आपूर्तिमन्त्री
गजेन्द्र हमाल संसद् बाहिरबाट मन्त्री भएका हुन् । उनलाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको ‘कोटा’मा मन्त्री बनेको आरोप लागेको छ ।
संविधानमा संसद बाहिरबाट पनि मन्त्री हुन सक्ने व्यवस्था छ । तर, संसद्बाट मन्त्री भएको व्यक्ति ६ महिनाभित्र संसद् सदस्य हुनुपर्नेछ अन्यथा स्वतः ६ महिनापछि मन्त्री पद जानेछ । मन्त्री नबन्दैदेखि चर्चामा आएका हमालको नियुक्तिले गर्दा सरकारको पनि चर्को विरोध भइरहेको छ ।
भवानी खापुङ – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री
२०३६ सालदेखि निरन्तर राजनीतिमा सक्रिय रहेका भवानी खापुङ पहिलो पटक राज्यमन्त्री भएका छन् । २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा पराजित खापुङ २०७४ सालमा तेह्रथुमबाट निर्वाचित भएका हुन् ।
२०४० सालपछि नेकपा एमालेको तेह्रथुम जिल्लामा दुईपटक जिल्ला सचिव, एक कार्यकाल अध्यक्ष हुँदै तत्कालीन नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगको सदस्य हुँदै उनी केन्द्रीय राजनीतिमा सक्रिय थिए । हाल उनी नेकपा एकीकृत समाजवादीमा छन् । १८ वर्ष शिक्षण गरेका उनी २०५४ सालमा तेह्रथुमको मोराहाङ्ग गाविसको अध्यक्षसमेत भएका थिए ।
बोधमाया यादव – शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री
राज्यमन्त्री बोधमाया यादव शहीद रामवृक्ष यादवकी छोरी हुन् ।
नेकपा माओवादीले सशस्त्र विद्रोहको तयारी गरिरहेका बेला रामवृक्ष यादव (मास्टर साहब) को २ भदौ २०५१ मा सरकार पक्षबाट ‘हत्या’ भएको थियो । धनुषाकी बोधमाया सांसद भएको पहिलो पटकमै राज्यमन्त्री बनेकी हुन् ।
संसद डायरीको सहयोगमा