डिम्बाशयको क्यान्सर : बेलैमा परीक्षण गरे बचिन्छ‚ नत्र भन्न सकिन्न !

भर्खरै हामीले एकै दिन दुई जना महिलाको डिम्बाशयको क्यान्सरको शल्यक्रिया गर्‍यौँ । २३ वर्ष र ४४ वर्षका दुई जना बिरामी हुनुहुन्थ्यो । क्यान्सर क्रमशः तेस्रो र चौथो चरणको थियो । पछिल्लो समय डिम्बाशयको क्यान्सरका बिरामी बढिरहेका छन् ।

धेरैजसो निकै गाह्रो भएपछि वा तेस्रो‚ चौथो चरणमा पुगिसकेपछि मात्र अस्पताल वा डाक्टरकोमा आउनुहुन्छ । पेट फुल्यो‚ पढ्न पनि गाह्रो भयो भन्ने जस्ता समस्या सुनाउनुहुन्छ । अनि परीक्षण गर्दा क्यान्सर भइसकेको अवस्था हुन्छ । त्यो पनि सुरुवाती चरणको होइन‚ तेस्रो चौथो चरणको ।

डिम्बाशयको क्यान्सरका कारण
अरू क्यान्सरजस्तै डिम्बाशयको क्यान्सरका केही कारण छन् । सामान्यतया जेनेटिक अर्थात् पुस्तैनी कारण एक हो । आफ्ना आमा हजुरआमालाई भएको छ भने छोरी नातिनीमा पनि यो क्यान्सर हुने सम्भावना हुन्छ । यस्तै फेरिँदो जीवनशैली र अखाद्य र रसायनयुक्त खानेकुराको बढी प्रयोगका कारण पनि क्यान्सर हुन्छ ।

परीक्षण र निदान
सकेसम्म त क्यान्सरमात्र होइन, कुनै पनि रोग लाग्नै नदिनु राम्रो हो । लागिहालेमा चाहिँ बेलैमा उपचार गराउनु जरुरी हुन्छ । कुनै पनि रोग हामीले कति छिटो थाहा पाउँछौँ, त्यति नै छिट्टो र पूर्ण निको हुने सम्भावना धेरै हुन्छ । रोगको पहिचान गर्न परीक्षण गर्नुपर्छ । डिम्बाशयको क्यान्सरका लागि पनि नियमित परीक्षण गर्न जरुरी हुन्छ ।

यसका लागि ट्रान्सभजाइनल अल्ट्रासाउन्ड (टीभीएस) गर्न जरुरी हुन्छ । वर्षमा एकपटक यो परीक्षण भएमा डिम्बाशयको क्यान्सरबारे थाहा पाउन सकिन्छ । हाम्रोमा सामान्यतया एबडोमिनल अल्ट्रासाउन्ड बढी गरेको पाइन्छ । योभन्दा टीभीएस चाहिँ डिम्बाशयको क्यान्सर भए नभएको बारे सूक्ष्म जानकारी दिने भएकाले निक्र्यौल गर्न बढी प्रभावकारी हुन्छ ।

यो परीक्षण धेरै महँगो र गाह्रो पनि छैन । वर्षमा एकपटक चाहिँ महिलाले नियमित रूपमा यो परीक्षण गर्नुपर्छ‚ ता कि पहिलो चरणमै भएको भए उपचार प्रभावकारी बनाउन सकियोस् । शल्यक्रिया गरेर डिम्बाशय नै फाल्न पनि मिल्छ । त्यसैले यसमा ध्यान दिन जरुरी छ ।

  • डा. गौतम झापा बिर्तामोडको मनमोहन अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ हुन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *